दमकमा लिम्बू जातिले यले तङवे मनाउदैं

दमक ,१५ माघ । किरात याक्थुङ चुम्लुङ दमकले यसवर्ष पनि यले तङवे –५०८६ (नयाँ वर्ष ) मा शुभकामना आदानप्रदानसहित कक्फेक्वा तङनाम तथा ताम्भुङचा थिम्बे ( बनभोज ) भव्य रुपले मनाउने भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाईएको छ ।
लिम्बू जातिको सामाजिक संस्था चुम्लुङले दमकमा विगत ५ वर्षदेखि नियमित रुपमा यले तङवेलाई विशेष उत्सवका साथ मनाउदै आएको छ । माघ १६ गते तय गरिएको उक्त कार्यक्रम यसवर्ष चुम्लुङले दमक- २ स्थित भाङवारीमा रहेको आफनै जमीन मुन्धुमयकमा मनाउन लागिएको अध्यक्ष देवेन्द्र चेम्जोङले बताए ।
उनका अनुसार सो कार्यक्रम भव्य रुपले सम्पन्न गर्न चुम्लुङ नगर सचिव चन्द्रबहादुर कन्दङवाको संयोजकत्वमा आयोजक मूल समिति तथा अन्य आधा दर्जन विभिन्न उपसमितिहरु गठन गरि काम तीव्र पारिएको छ ।
कार्यक्रम संयोजक कन्दङवाले लिम्बू जातिको महान चाडका रुपमा येले तङवे मनाउदै आएको र यसवर्ष पनि यसलाई निरन्तरता दिईएको जनाएका छन् ।
कार्यक्रममा शुभकामना आदानप्रदान,लिम्बू जातिका कला, संस्कृतिमूलक गीत, नृत्य,खेलहरु आयोजना गरिनुका साथैं धान नाँच ,हाक्पारे, पालाम लगायतको सांस्कृतिक कार्यक्रमहरुको विशेष प्रस्तुति रहने संयोजक कन्दङवाले जानकारी दिए । त्यस्तै, राष्ट्रिय कलाकारहरुको समेत आर्कषक प्रस्तुति रहने जनाईएको छ ।
बनभोजसहितको सो कार्यक्रममा सहभागिताका लागि जनही रु १ हजारको प्रवेश शुल्क राखिएको छ । कार्यक्रममा करिव ५ सयको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published.