-छविराज ढकाल
पथरी शनिश्चरे, २७ पुस ।पूर्वी मोरङका क्रिकेट खेलाडीहरूको खेल क्षमता र विकासका लागि पथरी शनिश्चरे नगरस्तरीय क्रिकेट खेल मैदानमा कंक्रिट पिच निर्माण गरिएको छ। आज आईतबार पथरी शनिश्चरे २ को वडा कार्यालयको आव्हानमा कंक्रिट पिच निर्माण गरिएको हो।
उक्त अवसरमा स्थानीय क्रिकेट खेलाडी, जनप्रतिनिधि, क्रिकेटप्रेमी स्थानीय समाजसेवी, सञ्चारकर्मी तथा सर्वसाधारणहरूले ढुङ्गा , गिटी बालुवा, सिमेन्ट सहितको कंक्रिट पिच निर्माणका लागि श्रमदान गरे ।
लामो समयदेखि राम्रो खेल मैदानको अभाव झेलिरहेका क्रिकेट खेलाडीहरूले यो कंक्रिट पिच निर्माणपछि आफ्नो खेल क्षमता र सीप अभिवृद्धि हुने विश्वास गरेका छन्।
आफु जस्तै अन्य खेलाडीहरूको उत्पादन र खेल कौशलताका लागि ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको नगरस्तरीय क्रिकेट प्रतियोगितामा खेल प्रदर्शन गर्दै आएका खेलाडी दिपेश भण्डारी बताउँछन्।
उनी जस्तै प्रदेश तहको अन्डर १९ क्रिकेट प्रतियोगितामा समेत खेलिसकेका अर्का खेलाडी अश्विन महतले आफूहरूको खेल क्षमता र विकासमा यो क्रिकेट मैदानले थप सहयोग पुर्याउने दाबी गरेका छन्।
सोहि खेलमैदानमा आगामी फागुन महिनादेखि १ नगरस्तरीय क्रिकेट लिग प्रतियोगिता र अन्य क्रिकेट टुर्नामेन्ट समेतको आयोजना गरिने पथरी शनिश्चरे वडा नम्बर २ का वडाध्यक्ष नैना साम्पाङ राईले जानकारी दिए ।
उपयुक्त खेलमैदानको अभावमा खेलाडीहरूले आफ्नो खेल क्षमता र प्रतिभा प्रस्फुटन गर्न नसकेको आफूले अनुभूति गरेको वडाध्यक्ष राईले बताए। हाल पथरी शनिश्चरे नगरपालिकाले लागू औषध तथा दुर्व्यसनबाट बचाउने अभिप्रायले नगरका सबै वडाहरूमा रहेका खेलाडीहरूको खेल, क्षमता विकास र प्रवर्धनका लागि विभिन्न किसिमका खेलकुद प्रतियोगिताहरु आयोजना गर्दै आएको जनाइएको छ।उनका अनुसार उक्त खेलमैदानमा आवतजावतका लागि आवश्यक सडक सञ्जाल र पूर्वाधारहरुको निर्माण भइरहेको छ।
पथरी शनिश्चरे वडा नं २ को सुदूर पूर्व र सेल्फी रोड दक्षिण बोक्रे चोकमा निर्माण भइरहेको उक्त नगरस्तरीय क्रिकेट रङ्गशाला करिब ५ बिगाहा क्षेत्रफलमा फैलिएको छ। उक्त रङ्गशालाको उत्तरपट्टि क्रिकेट खेलमैदान रहनेछ भने दक्षिणतर्फ भलिबल र फुटबल खेलका लागि खेल मैदानहरूको निर्माण गरिने जनाइएको छ। उक्त खेलमैदानको नजिकै सुनझोडा खोलामाथि यतिवेला धमाधम संघीय सरकारबाट कुल ५ करोड ६८ लाख ९३ हजार ८५५ रुपैयाँको लागतमा मोटरेवल पुलको निर्माण भइरहेको पनि छ। उक्त पुलले उर्लाबारी वार्ड नम्बर ३ र पथरी शनिश्चरे वडा नं २ लाई प्रत्यक्ष लाभ पुग्नेछ भने उक्त खेल मैदानले पथरी शनिश्चरे ,छिमेकी उर्लाबारी, कानेपोखरी, लेटाङ, बेलबारी लगायतका पालिकाहरूबाट आउने क्रिकेट खेलाडीहरूले पनि आफ्नो खेल कौशल , सीप र कलालाई थप विकास गर्न सक्ने स्थानीय खेल पत्रकार अर्जुन काफ्लेको विश्लेषण छ।