इलाम, २५ मंसीर । जेनजी आन्दोलनका कारण स्थगन गरिएको रेड पान्डा म्याराथन आउँदो पुस १ गते आयोजना गरिने भएको छ । उक्त म्याराथन गत असोज ४ गते गर्ने तयारी गरिए पनि जेनजी विद्रोहका कारण स्थगित गरिएको थियो ।
विश्वकै दुर्लभ दुर्लभ वन्यजन्तु रेडपान्डाको संरक्षणसँगै जैविक विविधताको महत्वबारे समुदायदेखि देश विदेशसम्म सचेतना फैलाउन म्याराथन आयोजना गरिएको हो । म्याराथनको दूरी ४४.२ किलोमिटर रहने तय भएको छ । समुद्री सतहदेखि १ हजार ८ सय २० मिटरमा अवस्थित इलाम सदरमुकाम इलाम बजारदेखि सुरु हुने म्याराथन ३ हजार ६ सय १० मिटर उचाइमा रहेको पर्यटकीय क्षेत्र सन्दकपुर पुगेर टुंगिने आयोजक दिप ज्योती युवा क्लबले जनाएको छ ।
म्याराथनमा एक सय धावकको सहभागिता रहने आयोजक दिप ज्योती युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तावाले जानकारी दिए । उनका अनुसार प्रतियोगिता पुरुष र महिला दुवै विधामा खुला तथा स्थानीय (इलाम, पाँचथर ताप्लेजुङ) तीन जिल्लाका धावकले सहभागिता हुन पाउने गरी २ विधामा आयोजना गरिनेछ ।
पुरुष र महिला दुवै विधामा खुलातर्फ दौडिएर पहिलो हुने धावकले जनही १ लाख ५० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । दोस्रोले समान एक १ लाख, तेस्रोले ५० हजार र चौथोले ३० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।
यस्तै स्थानीयतर्फका सहभागीमध्ये पहिलोले २५ हजार, दोस्रोले २० हजार, तेस्रोले १० हजार र चौथोले पाँच हजार पुरस्कार पाउने क्लबले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
दिप ज्योती युवा क्लबसहितका साझेदार संस्थाले कोशी प्रदेशका पहाडी र उच्च पहाडी क्षेत्रमा पर्ने इलाम, पाँचथर, ताप्लेजुङमा रेड पान्डा संरक्षणका लागि विभिन्न क्रियाकलाप गरिरहेको छ ।
रेड पान्डा नेटवर्क, प्ले फर नेचर, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाको सहयोगमा सञ्चालन भइरहेको यो कार्यक्रमको निरन्तरता स्वरुप रेड पान्डा म्याराथन आयोजना गर्न लागिएको हो । प्रतियोगितामा नेपाली सेनाको प्राविधिक सहयोग रहने जनाइएको छ ।
गत वर्ष क्लबले ताप्लेजुङमा अन्तर्राष्ट्रिय ट्रेल म्याराथन आयोजना गरेको थियो । खेलकुदलाई प्रकृति संरक्षणसँग जोड्न सकिन्छ भन्ने सिन्देश दिन पनि प्रतियोगिता गर्न लागिएको आयोजकको भनाइ छ ।