झिलझिले ,१० साउन । झापाको शिवसताक्षीस्थित सतासीधाम जेसीजको आयोजनामा विहिबार निशुल्क दन्त शिविर सञ्चालन गरिएको छ । शिवसताक्षी -५ नम्बर वडा कार्यालयमा सञ्चालित शिविरमा ५१ जनाले सेवा लिएका थिए । सतासीधाम जेसीजका अध्यक्ष पदम कुवँरको अध्यक्षता तथा नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन) को प्रमुख आतिथ्यतामा भएको शिविरमा प्राविधिक सहयोग दमकको आमा डेन्टल केयरले गरेको थियो ।
शिविरमा दन्त रोग विशेषज्ञ डा. संगीता बराल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेका थिए । नगरप्रमुख थोप्राको दन्त परीक्षण गरेर शिविर शुभारम्भ गरिएको थियो ।
आमा डेन्टल केयरका प्रवन्ध निर्देशक अर्जुनकुमार श्रेष्ठका अनुसार शिविरमा ५१ जनाको निशुल्क दन्त परीक्षण तथा उपचार परामर्श सेवा उपलब्ध गराइएको थियो । जेसीज सप्ताह अन्तर्गत सतासीधाम जेसीजले निशुल्क दन्त शिविर सञ्चालन गरेको कार्यक्रम संयोजक दिलबहादुर कार्कीले (राजन ) बताए ।