बिर्तामोड ,३ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रकुमार यादवले अहिलेको संविधान सर्वोत्कृष्ट भएको औल्याएका छन् । कांग्रेस झापाले शनिवार बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले संसदमा चारजात, छत्तिस वर्णको फूलबारी देखिने विशेषता बोकेको संविधान सर्वोत्कृष्ट रहेको दावी गरे ।
‘समतामूलक सहभागिता, सवै जात, वर्ग, क्षेत्र, लिङ्गको प्रतिनिधित्व, मिश्रित प्रणाली एवं संसदमा सबैको प्रतिनिधित्व देखिनु संविधानको विशेषता हो’–यादवले भने–‘संविधानकै कारण बहुमत आउन सकेन भन्नु गलत हो ।’ संविधान र निर्वाचन प्रणालीमा कुनै खरावी नरहेको जिकिर गर्दै सहमहामन्त्री यादवले पार्टीभित्रको अन्तरघात, जनमुखी कार्यक्रमको कमी र संसदीय निर्वाचनमा देखिएको ईश्र्या एवं इगोकै कारण पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसकेको धारणा राखे । निर्वाचन प्रणालीकै कारण बहुमत आएन भनेर गरिएको टिप्पणीप्रति असहमति ब्यक्त गर्दै उनले जनमत जित्ने गरी कार्य गर्न जनप्रतिनिधिहरुलाई आह्वान गरे ।
लोकतान्त्रिक ब्यवस्थाको स्थायित्व र संविधानको रक्षाका लागि कांग्रेस–एमाले सहकार्य बाध्यकारी भएको बताउँदै पूर्व नेता यादवले गुटउपगुट त्यागेर पार्टीलाई बलियो बनाउन सबै तहका नेता कार्यकर्तालाई आह्वान गरे । निर्वाचनमा कुनै दलसँग सहकार्य हुने–नहुने कुरा त्यसबेलाको परिवेश हेरेर निर्णय गरिने उनको भनाइ छ ।
नेपालको राजनीतिक परिवर्तनमा गिरिजाप्रसाद कोइराला र कृष्ण सिटौलाको योगदान अति महत्वपूर्ण रहेको चर्चा गर्दै यादवले भने –‘गिरिजाप्रसाद कोइरालाको दुरदर्शिता र कृष्ण सिटौलाको क्षमताकै कारण शान्ति सम्झौता भएर संविधानसभाबाटै संविधान निर्माण सम्भव भएको हो ।’
कार्यक्रममा कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले निर्वाचनको मुख्य प्रतिष्पर्धी एमाले नै रहेको बताउँदै तरबारको धारमा टेकेर गरिएको सत्ता साझेदारी जोखिमपूर्ण रहेको टिप्पणी गरे ।
नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले सञ्चालन गरेका थिए ।