दमक,६ भदौं । कमल गाउँपालिकामा स्वास्थ्य संस्थाबाट हुने जिन्सी तथा स्टोर व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने सम्बन्धी शनिवार एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिकाअन्तर्गतका ८ वटै स्वास्थ्य संस्थाका प्रमुख, स्टोर÷जिन्सी शाखाका प्रमुख तथा फोकल पर्सन र फार्मेसीका कर्मचारीहरूको सहभागितामा अभिमुखीकरण सञ्चालन गरिएको हो।
कार्यक्रममा स्वास्थ्य कार्यालय, झापाका युवनाथ बरालले पाम्स भी प्रणालीको प्रयोग, स्वास्थ्य संस्थामा जिन्सी तथा औषधि व्यवस्थापन, अभिलेख राख्ने प्रक्रिया तथा प्रणालीको प्रभावकारी प्रयोगलगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
अभिमुखीकरणले स्वास्थ्य संस्थामा रहेका औषधि, स्वास्थ्य सामग्री तथा अन्य जिन्सी सामग्रीको व्यवस्थित अभिलेखीकरण, भण्डारण, माग तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले बताए ।
कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले यो प्रयोगसम्बन्धी व्यवहारिक ज्ञान प्राप्त गर्नुका साथै प्रणाली सञ्चालनका क्रममा देखिने समस्या तथा समाधानका विषयमा समेत छलफल गरेका थिए ।