मधुमल्ला ६ भदौं । मोरङको मिक्लाजुङ गाउँपालिका वडा न.९ मधुमल्लामा हालै आयोजित रक्तदानमा ५५ पिन्ट रगत संकलन भएको छ । विश्व बन्धुत्वको भावना प्रवद्र्धन गर्ने उद्देश्यका साथ दादी प्रकाश मनिको १९ औं पुन्य तिथिको अवसर पारेर गत भाद्र ४ गते मधुमल्ला बजारमा आयोजना गरिएको रक्तदानमा महिला १८ सहित ५५ जनाले रगतदान गरेका थिए ।
रक्तदान ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र ( ॐ शान्ति ) को मधुमल्ला वजारस्थित आफनै भवनमा भएको थियो । रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक पालिका शाखा रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको ॐ शान्तिका अभियानकर्मी समेत रहेका जेष्ठ नागरिक रमेशप्रसाद दाहालले जानकारी दिए ।
मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलको प्रमुख आतिथ्यता तथा ब्राह्मकुमारी दिदी कमलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा सहभागिहरुलाई प्रंशसापत्र समेत प्रदान गरिएको थियो ।
रक्तदान कार्यक्रममा मिक्लाजुङ वडा न. ९ का अध्यक्ष सेमान्तराज दाहाल , मुधुमल्ला प्रहरी चौकीका प्रहरी नायव निरीक्षक चन्द्र कुबेर अधिकारी , रक्तसञ्चार सेवा केन्द्रका प्रर्वद्धक सिद्धार्थ दाहाल लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।