दमक,२३ असार । सामुदायिक क्याम्पसका प्राध्यापकहरुको क्षमता बिकासका लागि दमकमा सञ्चालन गरिएको ६ दिवसीय तालिम समापन भएको छ । विश्व बिद्यालय अनुदान आयोगको प्राविधिक सहयोग तथा दमक बहुमुखी क्याम्पसले सञ्चालन गरेको तालिम आइतवार समापन गरिएको हो ।
तालिममा विश्व बिद्यालय अनुदान आयोगको परियोजना सञ्चालनमा रहेका झापा, मोरङ, पाँचथर , ताप्लेजुङ लगायत गरि पूर्वका विभिन्न १३ वटा सामुदायिक क्याम्पसका ३० जना प्राध्यापकहरुको सहभागिता रहेको थियो ।
तालिममा १६ जना विज्ञहरुले प्राध्यापकहरुको क्षमता बिकासका लागि विभिन्न बिषयमा प्रशिक्षण दिएको दमक बहुमुखी क्याम्पसका प्रमुख यज्ञराज गिरीले जानकारी दिए ।
दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा तालिममा सहभागी प्राध्यापकहरुलाई परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहनियन्त्रक प्राध्यापक डा. गोविन्द गुरागाइँ लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
सहभागीहरुलाई प्रमाण पत्रसँगै दमक बहुमुखी क्याम्पसद्धारा प्रकाशित जर्नल समेत उपहार स्वरुप प्रदान गरिएको थियो । समापन कार्यक्रममा दमक बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष सुरेश सुब्बा, मेची बहुमुखी क्याम्पसका प्रमुख देवी आचार्य, सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुन अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तालिममा सहभागीहरु मध्ये रवि क्याम्पस पाँचथरकी प्रमुख टिकादेवी भट्टराई र विरेन्द्र क्याम्पस चन्द्रगढीका प्रमुख प्रेमप्रसाद घिमिरे लगायतले अनुभव सुनाउदै तालिममा सिकेका ज्ञान र सीप व्यवहारमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए ।