‘अब आदिवासी रङ्गशाला जनस्तरबाट बनाउँछौं ’

दमक , २५ जेठ । झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले झापाको कमल गाउँपालिका –५ स्थित निर्माणाधीन आदिवासी रङ्गशालाका लागि राज्यले उपेक्षा गरेको भन्दै जनताले अब हिसाब किताब खोज्ने बेला आएको बताएका छन्।

जिल्लाको कमल गाउँपालिका वार्ड नम्बर ५ स्थित रङ्गशालाको निमार्णका लागि वर्तमान सरकारले अपेक्षा गरेकोले अब स्थानीय जनता , सरोकारवालाहरूले जन जनस्तरबाट नै रंगशाला निर्माण अघि बढाउने उनको भनाइ थियो ।
किरात राई यायोकखा झापाले कमल गाउँपालिका -५ सितापुरीस्थित साकेला थानमा शनिबार आयोजित जिल्लास्तरीय साकेला सिली समापन कार्यक्रममा बोल्दै अध्यक्ष राईले अब राज्यको मुख नताकि जनस्तरबाट बृहत अभियानका साथ रङ्गशाला निर्माण गरी छाड्ने उद्घोषण गरे।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका राईले आदिवासी रङ्गशाला निर्माणमा राज्य सधैं उदासीन देखिएको टिप्पणी गरे । उनले भने,–’अब जनता आफै जुटेर यो रङ्गशालालाई पूर्णता दिनेमा दृढताका साथ लाग्नेछौं।’

यो रङ्शाला निर्माणका लागि पालिका र रङ्गशाला समितिकै नेतृत्वबाट संघीय सरकारका मन्त्री तथा विभागीय अधिकारीहरूसँग छलफल गरेको बताउँदै उनले राज्यले हामीले उठाएका माग सम्बोधन गर्नको सट्टा दमकमा अर्को रंगशाला बनाउने भनि गरिएको निर्णयले यहाँका आदिवासी जनजाति तथा सरोकारवालाहरू दुखित हुनुपरेको उनले सुनाए । अध्यक्ष राई आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानका समेत अध्यक्ष हुन्।

आदिवासी जनजातिहरूको चिहान उत्खनन गरेर निर्माण सुरु गरिएको आदिवासी रङ्गशाला निर्माणको सट्टा वर्तमान सरकारले दमकमा प्रस्तावित मदन भण्डारी रङ्गशाला बनाउन यस वर्ष बजेट नै विनियोजन गरेको छ ।सार्वजनिक गरिएको बजेटमा नाम उल्लेख नगरिए पनि यसले खेलकुद प्रेमीहरूका लागि द्रुविधा उत्पन्न गराएको छ ।
उक्त कार्यक्रममा वक्ताहरुले राज्यले आदिवासी जनजातिको हक ,अधिकार स्थापित गर्न आनाकानी गरिरहेको चर्चा गर्दै त्यसलाई परास्त गर्न सम्पूर्ण आदिवासी जनजातिहरु एकजुट भएर अघि बढ्नुपर्ने औल्याएका थिए।

Leave a Reply

Your email address will not be published.