विराटनगर ,२३ फागुन । नेकपा एमाले मोरङको दसौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मत परिणाम आएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षलाई हराउदै नेता विनोद ढकाल पक्ष विजयी भएका छन् ।ढकाल पक्षबाट उम्मेद्वार बनेका पाँचै जना पदाधिकारी विजयी भएका हुन् ।
सार्वजनिक भएको मत परिणाम अनुसार ढकालले अगाडि सारेका अध्यक्षका उम्मेद्वार अजम्बर राईले ४४६ मत ल्याउँदा संस्थापन पक्षका राजकुमार ओझाले ४०७ मत मात्रै ल्याएका छन् । यस्तै उपाध्यक्षमा ढकाल पक्षका सागर थापाले ४२२ मत ल्याउँदा संस्थापनकी शान्तिकुमारी लिम्बूले ३९१, सचिवमा ढकाल पक्षका सोमराज थापाले ४६२ मत ल्याउँदा संस्थापनका रविन थापाले ३६८ मत पाएका छन् ।
यस्तै उपसचिवमा ढकाल पक्षका सन्तोष वान्तवाले ४९० र उषा झाले ४१८ मत ल्याउँदा संस्थापन पक्ष्ँका इर्जालाल राजवंशीले ३११ र शिल्पा कार्कीले ४०५ मत ल्याएकी छिन् । अधिवेशनमा ८ सय ८८ मत खसेको थियो। निर्वाचन समितिले भने औपचारिक परिणाम घोषणा गरेको छैन् । जिल्ला कमिटीका सदस्यहरुको भने मत परिणाम आउन अझै समय लाग्ने देखिएको छ ।