दमक,५ फागुन । झापाको कमल गाउँपालिका ५ स्थित मंगलवारेको रेडक्रस कार्यालयमा सोमबार आयोजित निशुल्क आखाँ तथा दन्त शिविरमा २५१ जना लाभान्वित भएका छन् ।
नेपाल रेडक्रस सोसाईटी कमल उपशाखा र राष्ट्रिय बहुमुखी सहकारी संस्था दमकको संयुक्त आयोजनामा भएको एक दिने शिविरमा आखाँतर्फ १९० जना र दन्त सम्बन्धी ६१ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा विरामीहरुलाई औषधीहरु समेत निशुल्क वितरण गरिएको थियो ।
रेडक्रसको बार्षिक कार्यक्रम तथा सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निशुल्क आखाँ तथा दन्त परीक्षण शिविर सञ्चालन गरिएको रेडक्रस उपशाखाका सभापति चन्द्र साहले बताए । शिविरमा मेची आँखा अस्पताल र दन्त सम्बन्धी दमक थुलुङ डेन्टलको प्राविधिक सहयोग रहेको थियो । शिविरमा कमल ६ का ८१ बर्षिय सितामणी बराल लगायतले आखाँ सम्बन्धी सेवा लिएका थिए । शिविरमा मोतियाविन्दु देखिएका ७ जनाको शल्यक्रियाका लागि मेची आँखा अस्पतालमा पठाईएको थियो ।
राष्ट्रिय बहुमुखी सहकारी संस्था दमकका अध्यक्ष एलडी राईको अध्यक्षता तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको थियो । शिविर उद्घाटन गर्दे पालिका अध्यक्ष राईले रेडक्रससंगै सहकारीले आँखा तथा दन्त सम्बन्धीको निशुल्क स्वास्थ्य जाँच कार्यक्रमबाट यस क्षेत्रका बासिन्दाहरु लाभान्वित हुने बताएका थिए ।
शिविर उद्घाटनमा रेडक्रस उपशाखाका उपसभापति नरमाया तामाङ,सचिव पारषमणि राई,कोषाध्यक्ष प्रमोद दाहाल,उपसचिव विष्णु सुब्बा, सहकारीका सचिव दिपेनवाला राई, कोषाध्यक्ष टंक दुलाल ,रेडक्रसका सहकोषाध्यक्ष सन्तोष राई, सदस्यहरु दिलु गुरुङ,केशव तिम्सिना बिमला भटटराई, एकराज प्याकुरेल लगायत रेडक्रस तथा सहकारीका सदस्यहरुको उपस्थिति रहेको थियो ।
शिविरमा दन्त सम्बन्धी थुलुङ डेन्टलकी डा. सोफिया थुलुङ, मेची आँखा अस्पतालकी डा. कविता कार्की लगायतका स्वास्थ्यकर्मीहरुको टोलीले सहयोग पुरयाँएका थिए । शिविर कमल ५ मंगलबारेस्थित रेडक्रस उपशाखाको भवनमा सञ्चालन भएको थियो।