दमक, २८ कात्तिक । गत कार्तिक ६ गते जग्गा सम्बन्धी सामान्य विवादका क्रममा हत्या गरिएका दमक नगरपालिका– ९ का ३७ वर्षीय यामु निरौलाको हत्यामा संलग्न भएको आरोपमा ७ जना पक्राउ परेका छन् ।
राजनीतिक संरक्षण रहेको दमक ८ का बुद्धिमान थापा र डेबिड घलेलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन् । हत्याको आरोपमा पहिला सात र पछि दुई गरी जम्मा ९ जनामाथि जाहेरी परेपछि प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । त्यस घटनामा संलग्नमध्ये तीनजनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । संखुवासभा मादी नगरपालिका– १० घर भई दमक– ३ बस्ने गणेश दर्जी, उर्लाबारी– ६ का प्रकाश कार्की र उर्लाबारी– ७ का ध्रुव गौतम यसअघि पक्राउ परेका थिए । उनीहरूसँगै घटनास्थलमा देखिएका दुईवटा गाडी र दर्जीले प्रयोग गरेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पहिला पक्राउ पूर्जी जारी भएका बाँकी चार जनामध्ये दुईजना मंगलवार पक्राउ परेका छन् । पछिल्लो पटक एमाले कार्यकर्ता नमकुमार चेम्जोङ र दमक– ३ का राजु भनिने शेरबहादुर नेम्बाङ पक्राउ परेका हुन् ।
त्यस्तै पछि जाहेरी परेर पक्राउ पूर्जी जारी भएका दमक ८ का पूर्व वडा सदस्य तथा नगर खेलकुद विकास समितिका अध्यक्ष भीमराजचम्लागाई र एमाले कार्यकर्ता गोपाल भण्डारी पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए । उनले पक्राउ परेका ७ जनालाई आज अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थपिएको जानकारी दिए ।
राजनीतिमा निकै प्रभाव जमाएका दमक ८ का थापा परिवारका बुबा हरिश्चन्द्र थापाको १४ दिन अघि निधन भएपछि प्रहरीको फरार सूचीमा रहेका बुद्धि थापालाई प्रहरीले काजक्रिया सकिएपछि पक्राउ गर्ने अनुमान थियो ।
बुद्धि नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका गोविन्द थापाका सहोदर दाजु हुन् । उनीहरु दाजुभाई सपरिवार दमक ८ स्थित निवासमा स्वर्गीय बुबाको काजकिरियामा थिए । थापाका बुबाको १३ औं दिनको पुण्यतिथी मंगलबार परेको थियो । थापाको पक्राउ पूर्जी जारी भएपछि मात्र घटनाको ७ दिनपछि परिवारले निरौलाको अन्त्येष्टि गरेको थियो ।