दमक,२६ असोज । दशैको अवसरमा विगतका बर्षमा झै यसवर्ष पनि झापाको कमल गाउँपालिका -६ स्थित गेउरिया वजारमा महानवमी दशैं सांस्कृतिक मेला लागेको छ । मेलामा लोपोन्मुख सन्थालको नृत्य प्रस्तुत गरिनुका साथैं कृषि उपज, किनमेल तथा मनोरञ्जनका विभिन्न व्यवसायिक स्टलहरु राखिएका थिए ।
कमल ७ का वडाअध्यक्ष पृथीपति राईको प्रमुख आतिथ्यतामा भएको मेलामा सन्थालको परम्परागत नृत्य आर्कषण रहेको थियो । त्यसक्रममा मेलामा मनोरञ्जन प्रदान गर्ने संस्कृतिमूलक सन्थाल नृत्य टोलीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
गेउरिया वजार व्यवस्थापन समिति ,सृजनशील युवा क्लवसहितका सामाजिक संघसंस्थाको संयुक्त आयोजनामा दशैं मेला लागेको क्लवका अध्यक्ष बिक्रम निरौलाले बताए । दुर्गा पूजासहितको नवमी सांस्कृतिक मेला सम्पन्न गर्न स्थानीय तथा विदेशमा बस्दैआएका कमलका बासिन्दाले स्वेच्छिक रुपमा सहयोग पुरयाँएका थिए ।
टिका मेला पाडाजुंगीमा, एकादशी मंगलवारेमा
दशैंका अवसरमा बर्षोदेखि लाग्दैआएको सांस्कृतिक मेला यसवर्ष पनि जिल्लाका विभिन्न स्थानमा शुरुवात भईसकेको छ । यसैक्रममा आज टिकाका दिन कमल ५ स्थित पाडाजुंगीमा विशेष उत्सवका साथ भव्य रुपले लाग्दै छ ।
स्थानीय सामाजिक अगुवा प्रेमबहादुर कार्कीले टिका मेला भव्य तथा सभ्य रुपले सम्पन्न गर्न सबै तयारी पूरा भएको जानकारी दिए । त्यहाँ बर्सेनी टिका मेला लाग्दैआएको छ । यसैगरि ,टिकाको भोलिपल्ट एकादशीका दिन लाग्दैआएको मेला यसवर्ष पनि भव्य रुपले लाग्ने तयारी भईरहेको आयोजक सगुन युवा क्लवले जनाएको छ । क्लवसहित दुर्गा मन्दिर समिति , मंगलवारे वजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा लाग्दैआएको मेलामा सन्थाल समुदायको लोपोन्मुख नृत्य आर्कषण रहने क्लबका अध्यक्ष देवेन्द्रराज आङदेम्बेले बताए । उनका अनुसार मेलामा झापा, मोरङका एक दर्जन सन्थाल नृत्य टोलीको सहभागितामा प्रतियोगितानै आयोजना हुने छ । नृत्यमा विजेता,उपविजेता ,सान्तवना तथा सहभागि टोलीलाई नगद तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिने क्लवका सचिव रोशन दाहालले बताए ।
क्लवले संस्थागत हितमा सहयोग जुटाउन दशैंका अवसर पारेर केहिदिनदेखि दैनिक साँझपख हाउजीविंगो तम्बोला समेत सञ्चालन गरिआएको छ ।