झापा, २२ भदौ । जिल्लाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) अध्यापनको औपचारिक स्वीकृति पाएको छ ।
कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण गरि औपचारिक पठनपाठनको तयारी थालेको बताए । आयोगले शुक्रवार नै सिट निर्धारण बारेमा सार्वजनिक सूचना जारी गरिसकेको उनले जानकारी दिए ।
विर्तामोड ५ मा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विसं २०७१ फागुन १८ गतेदेखि ३०० शैयाको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो ।
नेपाल सरकारबाट वि।सं। २०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नु परेको जनसम्पर्क अधिकृत गिरीले बताए।
सर्वोच्च अदालतले वि।सं। २०८० चैत्र १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।
बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिका प्रिन्सिपल प्रा.डा. उमेश शर्माले सम्पूर्ण पूर्वाधार तयार रहेको जनाउँदै अब छिट्टै एमबीबीएसका विद्यार्थीको भर्ना र पठनपाठन सुरु हुने बताए।
विर्तामोडमा सुविधासम्पन्न अस्पताल सञ्चालन र मेचीनगर–११ धाइजनमा पठनपाठनका लागि पूर्वाधारयुक्त साइन्स बेसिक भवन स्थापना भइसकेको प्रा.डा. शर्माले जानकारी दिए । पठनपाठनका लागि कलेजका तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको समेत उनले बताए ।
“मेची अञ्चलबासीका लागि यो महत्त्वपूर्ण उपलब्धि र खुशीको विषय हो,” उनले भन्नुभयो–“संस्थापकहरु र स्थानीयबासीले यसका लागि कडा मिहेनत र लगानी गर्नुभयो । जसका कारण एउटा गुणस्तरीय अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने साझा सपना आज साकार हुँदैछ ।”
मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा झापामा गुणस्तरीय स्वास्थ्य सेवा र रोजगारी दिने लक्ष्यका साथ बीएन्डसी मेडिकल कलेज स्थापना भएको थियो । उनकै नेतृत्वमा विर्तामोडमा ३०० शैयाको पूर्वाञ्चल क्यान्सर अस्पताल समेत सञ्चालनमा रहेको छ ।
बीएन्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालमा लगभग दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।