धिमाल युवा प्रतिभा पुरस्कार नृत्यङ्गना सरस्वतीलाई

झापा ,३० जेठ । धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिले बर्षेनी वितरण गरिआएको “धिमाल युवा प्रतिभा पुरस्कार २०८१” बाट यसवर्ष नृत्यङ्गना सरस्वती धिमाललाई प्रदान गरिने भएको छ ।
धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिका सचिवालय सदस्य मोहनकुमार धिमालको संयोजकत्वमा रहेको पुरस्कार छनौट समितिको बैठकले बेलबारी–१०, माटिगाउँ, मोरङकी सरस्वती धिमाललाई सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कार यहि असार २ गते मोरङको उर्लावारीस्थित मंगलवारेमा आयोजना हुने धिमाल जातिको श्रीजात जात्री पर्व समापनका अवसरमा वितरण गरिने छ ।
गिनिज बुक अफ वर्ड रेकर्डमा सबैभन्दा उच्च स्थान ५,२७८ मिटर उचाईमा कोरियोग्राफी गरेर नाम लेखाउन सफल सरस्वती एक सफल नृत्यङ्गना हुन् । डान्सिङ स्टार नेपाल, स्कुल डान्सिङ च्याम्स, शिखर डान्स आईकनको उपाधि विजेता उनले विभिन्न गीतमा कोरियोग्राफरको रुपमा काम समेत गरेकी छन् ।
पुरस्कार छनौट गर्न मोहन धिमालको संयोजकत्वमा नारायण राजदोङ्गे, शंकर धिमाल, पुष्पा धिमाल, पितबहादुर धिमाल सदस्य रहेको समिति गठन गरिएको थियो ।
केन्द्रले युवा प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक बर्ष धिमाल युवा प्रतिभा पुरस्कारले सम्मान गरिआएको महासचिव मातृका धिमालले जानकारी दिए । यसअघि बडिबिल्डर विकास धिमाल, फुटबलर रजिन धिमाल, गायिका मेचु धिमाल, बडिबिल्डर ललित धिमाल, तेक्वान्दो खेलाडी दिपेन धिमाल, गायक राजेश धिमाललाई सम्मानीत भईसकेका छन् । पुरस्कृत व्यक्तित्वलाई नगद ५ हजार रुपैयाँ, प्रमाण पत्र र आल्गी धावा ओढाएर सम्मान गरिने छ ।

Leave a Reply

Your email address will not be published.