दमक ,१५ फागुन । दमक उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवबाट रु ३३ लाख बढी बचत गर्न सफल भएको छ । संघले २८ माघदेखि फागुन १२ गतेसम्म दमक ७ सयपत्री टोलमा प्रादेशिकस्तरिय पाँचौ दमक महोत्सव– २०८० को आयोजना गरेको थियो ।
संघले आज आफनै सभाहलमा पत्रकार सम्मेलन गरि महोत्सवको आयव्यय सार्वजनिक गर्दे यो महोत्सवबाट सवै खर्च कटाएर रु ३३ लाख बढी बचत गर्न सफल भएको जनाएको छ । संघका अध्यक्ष गोपाल गुरागाईले यस वर्षको महोत्सव हालसम्मकै ऐतिहासक वन्न सफल भएको दावी गरे । उनका अनुसार करिव १ लाख टिकट विक्री भएको र स्टल शुल्क,प्रायोजन,सहप्रायोजन,पार्किङ शुल्क लगायतका गरि ४१ लाख ५६ हजार ५ आम्दानी गर्न सफल भएको छ । त्यसमध्ये विभिन्न कार्यमा रु ७ लाख ८१ हजार ६ सय ३० रुपैया खर्च गरि कुल रु ३३ लाख ७४ हजार ८ सय ७० रुपैया बचत गर्न सफल भएको उल्लेख छ । महोत्सवमा रु ५ करोड बढीको कारोवार भएको उनको भनाई छ ।
महोत्सवबाट संकलित रकम संघले निर्माण शुरु गरेको इलम प्रशिक्षण केन्द्रमा खर्च गरिने अध्यक्ष गुरागाईले बताउनुभयो । महोत्सव हिसाव सार्वजनिकका अवसरमा महोत्सवमा प्रवेश टिकटहरु मध्ये एक जनालाई भाग्यशाली उपहार स्वरुप स्कूटीको लक्की ड्र गरिएको थियो । सो लक्की ड्रमा २४७८ नम्बरको टिकटले स्कूटी जित्न सफल भएको थियो ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ लगायत संघका पदाधिकारी,सदस्यहरुको उपस्थिति रहेको थियो ।