झिलझिले ,११ फागुन । स्मार्ट बिद्यालयका रुपमा बिकास हुँदै गएको झापाको शिवसताक्षी ७ फाक्तेपस्थित बाल सेवा आधारभूत बिद्यालय स्थापनाको ५० बर्ष पुगेको उपलक्ष्यमा स्वर्ण महोत्सव आयोजना गरिने भएको छ ।
बिद्यालयले आज शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यही फागुन २४ गते बिद्यालय परिसरमा भव्य कार्यक्रम गरि स्वर्ण महोत्सव मनाइने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बिद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले महोत्सवको अवसरमा विद्यालयमा विभिन्न अक्षयकोष स्थापना गर्ने दाताहरु, संस्थापकहरु, बिद्यालयको यातायात साधन खरिदमा सहयोग गर्ने दाताहरु, पूर्व बिद्यालय व्यवस्थापन समिति अध्यक्षहरुको सम्मान, मरणोपरान्त सम्मान, बिधागत खेलकुदमा उत्कृष्ट बालबालिकालाई पुरस्कार वितरण, पूर्व बिद्यार्थी मञ्चका दुई जनालाई सम्मान लगायतका कार्यक्रमहरु तय गरिएको जानकारी दिए । स्वर्णमहोत्सवको उदघाटन झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य एलपी साँवाले गर्ने पनि पत्रकार सम्मेलनमा जनाइयो ।
२०३० सालमा स्थापना भएको सो बिद्यालयको गौरवमय इतिहासको सम्मान गर्दै बिद्यालयका संस्थापकहरुलाई सम्मान गरिन लागेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द ल्वागुनले जानकारी दिए । उनले स्मार्ट बिद्यालयका रुपमा बिकास गरिँदै लगेको सो बिद्यालयलाई नगरकै एक नमुना बिद्यालय बनाउने अभियानमा बिद्यालयका भुतपूर्व बिद्यार्थीहरुको योगदान प्रशंसनीय भएको बताए । देश विदेश जुनसुकै ठाउँमा रहेर पनि हिजोको दिनका बिद्यार्थीहरु, आजका अभिभावक बन्नु भएको छ उहाँहरुकै इच्छा र चाहना अनुसार हामी यो बिद्यालय बिकासको योजना अघि बढाइरहेका छौं , अध्यक्ष ल्वागुनले भने । उनका अनुसार बिद्यालयका अभिभावकहरुले निजी बिद्यालयको बिकल्पका रुपमा गुणस्तरीय अंग्रेजी माध्यमबाट पठनपाठन गराइरहेको बालसेवालाई स्थानीय सरकार र शैक्षिक सरोकारवालाहरुले उच्च प्राथमिकतामा राखेको कारण पनि यो बिद्यालयको चौतर्फी बिकास सम्भव भएको हो ।
अंग्रेजी माध्यमबाटनै कक्षा ८ सम्म अध्ययन अध्यापन गराइरहेको सो बिद्यालयले पछिल्लो समय स्थानीय भाषाका रुपमा रहेको लिम्बू भाषालाई ऐच्छिक बिषयका रुपमा कक्षा १ मा अध्यापन गराइरहेको छ । लिम्बू भाषा अध्ययनमा सो कक्षाका १९ जना बिद्यार्थीहरु अध्ययनरत छन् । उनीहरुले नियमित रुपमा लिम्बू भाषाको विशेष कक्षा लिइरहेका छन् । ऐच्छिक लिम्बू भाषाको पठनपाठनको जोहो भने नगरपालिकाले बन्दोबस्ती गरिदिएको छ ।
साताभरी ५ प्रकारका खाजा
बिद्यालयमा शिक्षक र बिद्यार्थीहरुबीच नियमित खाजामा पनि समानताको अभ्यास गरिरहेको छ । बिद्यालयमा साताभरी ५ प्रकारका खाजा दिने गरिएको छ । बिद्यार्थी र शिक्षकहरुले खाने खाजामा एकरुपता छ बिद्यार्थीहरुका लागि जे पाक्छ, शिक्षकहरु पनि त्यही खाजा खानु हुन्छ, बिद्यालयका प्रधानाध्यापक कार्कीले भने ।
स्कूल बस खरिद गदैं
बिद्यालयले स्वर्णमहोत्सवका अवसर पारेर विद्यार्थी ओसारपसार गर्न स्कूल बस खरिद गर्नका लागि धमाधम सहयोग संकलन कार्य भईरहेको छ । बिद्यार्थीहरुको आवतजावतमा सहजताका लागि खरिद गर्न लागिएको बस खरिदमा दाताहरुबाट उल्लेख्य सहयोग प्राप्त भइरहेको अध्यक्ष ल्वागुनले जनाएका छनठ । उनका अनुसार स्कूल बस खरिदका लागि देशविदेशबाट गरि हालसम्म सो प्रयोजनका लागि करिब ९ लाख रुपैयाँ सहयोग जुटेको छ ।