राष्ट्रपति पौडेलद्वारा दाहालका परिवारलाई समवेदना सन्देश

दमक,१३ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालका परिवारलाई समवेदना पठाएका छन् । राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देशलाई झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र उनकी कान्छी छोरी अवज्ञा पौडेलले बुधवार उनको झापास्थित निवासमा पुगेर हस्तान्तरण गरियो ।
राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देशमा भनिएको छ–‘लोकतन्त्रका लागि भएका आन्दोलनमा पटक पटक सहभागि भएर जेलनेल र यातना भोग्नुभएका पूर्णानन्दजी एक निष्ठावान, सिद्धान्तनिष्ठ र असल नेता हुनुहुन्थ्यो । लोकतन्त्रप्रति समर्पित पूर्णानन्दजीको निधनले लोकतान्त्रिक आन्दोलनलाई अपुरणीय क्षति भएको मैले महशुस गरेको छु ।’
राष्ट्रपति पौडेलले पञ्चायतका कठिन समयमा २०२७ सालमा नेपाल विद्यार्थी संघको पूर्वाञ्चलमा संगठन विस्तारका क्रममा तत्कालिन अवस्थामा दमक हाइस्कूलको प्रधानाध्यापक रहेका शर्माले गरेको सहयोगको स्मरण पनि गरेका छन् ।
झापाको कमल गाउँपालिका वडा नं. ६ मा स्थायी रूपमा बस्दै आएका शर्माको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो । प्रजातन्त्रका लागि भएको आन्दोलनको क्रममा उनी पक्राउ परेर ५ वर्षभन्दा बढी जेलमा बसेका थिए । शारीरिक रुपमा अशक्त शर्मा पञ्चायत कालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलनका क्रममा पटक–पटक बन्दी जीवन बिताएका थिए । उनले केहिबर्ष अघि आफनो भोगाईलाई समेटेर ‘त्यागको परिणाम ’ नामक पुस्तक प्रकाशन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.