दमक,२७ साउन । अष्ट्रेलियन दुतावासको सहयोगमा दमक ९ स्थित सरस्वती माध्यमिक बिद्यालयमा अध्ययनरत अटिजम भएका बिद्यार्थीहरुका लागि करिव ३ लाख मूल्य बराबरको बिभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गरिएको छ ।
न्याय तथा विकासका लागी सामाजिक सञ्जाल नामक गैह्रसरकारी संस्था (एसएनजेडी ) को समन्वयमा अष्ट्रेलियन दुतावासले यस विद्यालयमा अध्ययनरत लक्षित विद्यार्थीका लागि विभिन्न सहयोगी सामाग्रीहरु प्रदान गरेको हो ।
शुक्रवार विद्यालयमा संक्षिप्त कार्यक्रम गरि ती सहयोगी सामाग्रीहरु विद्यालयलाई हस्तान्तरण गरिएको सहयोगी संस्था एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले बताए ।
बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रेवतराज पुरी (गगन) को अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले अटिजम हुनु कसैको दोष र गल्ती भन्दा पनि यो एउटा फरक पना भएको बताईन् । अटिजमको समस्या जो कसैलाई पनि हुन सक्ने भन्दै उनले यस्ता बालबालीकालाई भेदभाव भन्दा पनि फरक किसिमको खान पान र रहन सहन आवश्यक भएको बताईन् ।
कार्यक्रममा अटिजम अभिभावक समेत रहेका प्रदेश अपाङ्गता समन्वय समितिका सदस्य भोला बरालले अटिजम भएका बालबालिकाका अभिभावकलाई पनि तालिमको आवश्यकता भएकाले तिनै तहका सरकारहरुले यस बिषयमा कार्यक्रम बनाउनु पर्ने औल्याए । अटिजमको समस्यालाई अहिले कतिपयले ब्यापार गर्ने बिषय बनाएको भन्दै उनले यसमा स्थानीय सरकारले ध्यान दिनु पर्ने सुझाए ।
सरस्वती माविका प्रधानाध्यापक सिताराम ढकालका अनुुसार अटिजम भएका बिद्यार्थीहरुलाई लक्षित गरि केहिबर्ष यता विशेष कक्षा सञ्चालन गरिदै आएको छ । हाल १७ जना त्यस्ता विद्यार्थी अध्ययनरत छन् । सहयोगी सामाग्री हस्तान्तरण कार्यक्रममा अटिजम सोसाइटी झापाका अध्यक्ष रमेश रिजाल ,राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य मदनकुमार बोहोरा, शिक्षक अभिभावक संघका अध्यक्ष सोम तामाङ्गलगायत अटिजम भएका अध्ययनरत विद्यार्थी तथा अभिभवकहरुको समेत उपस्थिति रहेको थियो ।