दमक,२६ साउन । रोटरी क्लब अफ दमकले विभिन्न कार्यक्रम गरि आज १२ औं पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।दमक -१ स्थित मातृभुमि सदनमा आज साँझ आयोजित पदस्थापन तथा फेलोसिप कार्यक्रममा रोटरी दमक वर्ष २०२३-२४ का नवनिर्वाचित कार्यसमितिलाई सपथग्रहण सहित पदस्थापन गरिएको हो ।
क्लबका पूर्व डिस्ट्रिक गभर्नर बासुदेव गोल्यानको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा रोटरी क्लब अप दमकका अध्यक्ष पदम बराललाई तत्कालिन अध्यक्ष पशुपति बरालले अध्यक्षको चेन हस्तान्तरण गरे ।
अध्यक्ष बराललाई प्रमुख अतिथि गोल्यानले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए भने अध्यक्ष बरालले आफू नेतृत्वको बोर्डका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।
सो अवसरमा तत्कालिन अध्यक्ष बरालले वर्ष २०२२ -२३ का अवधिमा क्लबले सञ्चालन गरेका गतिबिधिहरुको बारेमा जानकारी गराएका थिए भने पूर्व अध्यक्ष भरत चम्लागाइँले क्लबका नवआगन्तुक सदस्यहरुको परिचय गराएका थिए । सो क्लबमा नयाँ सदस्यका रुपमा पर्यटन व्यवसायी केदार बस्नेत र उपप्राध्यापक हरी दाहाललाई स्वागत गरिएको थियो ।
सोहि अवसरमा क्लवले विभिन्न क्षेत्रबाट सहभागि क्लवका अध्यक्ष, जनप्रतिनिधिहरु, रोटरीका अगुवा तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । पदस्थापनमा प्रमुख अतिथि गोल्यान, दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई , रोटरी क्लव वर्ष (सन् २०२३ –०२४ ) का एसिस्टेन्ट गर्भनर विजुबैनी श्रेष्ठ लगायतले रोटरीका बारेमा बोलेका थिए । रोटरीले यो वर्ष ‘संसार भरि आशाको निर्माण गर्नु’ भन्ने नाराका साथै मानवीय तथा परोपकारी कार्य गर्ने जनाएको छ । रोटरी दमकका सचिव भेनष श्रेष्ठले सञ्चालन गरेको पदस्थापन कार्यक्रममा रोटरीका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
