दमक,२८ असार । इलाका प्रशासन कार्यालय दमकबाट पछिल्लो दुई साताको अवधिमा ५ सय ५७ जनाले नागरिकता लिएका छन् ।जसमध्ये दमक नगरपालिकाबाट २ सय २८, शिवसताक्षी नगरपालिकाका २०२ र कमल गाउँपालिकाको १ सय २७ जनाले नयाँ व्यवस्था अनुसारको नागरिकता लिएको कार्यालयका प्रमुख महेशराज तिम्सिनाले जानकारी दिए ।
नागरिकतासम्बन्धी नयाँ ऐन लागू भएपछि जन्मसिद्ध नेपालीका छोराछोरीले नागरिकता लिन चाप बढेसंगै कामकाज सहज बनाउन टोकन प्रणाली लागू गरिएको उनले बताए ।
ठाकुरलाई ठगी मुद्धा
यसैवीच, नागरिकता बनाईदिन्छु भनेर रकम उठाउने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पक्राउ पर्नेमा भारत विहार राज्य दरवंगा जिल्ला अलिनगर ग्राम पञ्चायत घर भई हाल दमक १ मा डेरा गरि बस्दैआएका २७ वर्षीय मुकेश ठाकुरलाई पक्राउ गरेर ठगी मुद्दा चलाएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए । ठाकुरले विभिन्न तीन जना व्यक्तिसंग नागरिकता बनाईदिने भन्दै रु ३ लाख रकम उठाएको उनको भनाई छ ।