फरार सुनचाँदी व्यवसायी बिक विरुद्ध ठगी मुद्धा

गौरादह ,२३ असार । करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका झापा, गौरादहका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्माविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।गौरादह नगरपालिका वडा न. १ बजार घर भएका फरार व्यवसायी विश्वकर्माविरुद्ध ईलाका प्रहरी कार्यालय दमकमा ठगी मुद्दा दर्ता भएको दमकका प्रहरी नायब उपरीक्षक मनोज कुमार लामाले जानकारी दिए । इप्रका दमकमा मुद्दा दर्ता भइसकेकाले शनिबार बिदाको दिन भएकाले अदालती प्रक्रियामा आईतबार लैजाने लामाले बताए ।
गौरादह नगरपालिका वडा न. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले फरार व्यवसायी विश्वकर्माबाट ठगिएका ४ सय ७४ जनाको निवेदन सहित शुक्रबार ईलाका प्रहरी कार्यालय दमकमा ठगी उजुरी दर्ता गराएका हुन् ।
वडाध्यक्ष भण्डारीले शुक्रवारसम्म पीडित भनिएका ४७४ जनाको निवेदन आएकाले सोहि निवेदन सहित प्रहरीमा उजुरी दिएको बताए । ४ सय ७४ जना पीडितले दिएको निवेदनमा रु २४ करोड ६५ लाख ३ सय ५५ रकम दाबी परेको छ । निवेदन दिनेको संख्या अझ बढ्न सक्ने उनको भनाई छ । ठगिएकाहरुको न्यूनतम रु ४० हजार ९५० हजार देखि अधिकतम रु ४० लाख रकम जम्मा गरेको देखिएको छ । पीडितहरु धेरैजसो गौरादह,कमलदेखि गौरीगञ्ज, दमक, शिवसताक्षी, बिर्तामोड, उर्लाबारी, विराटचोक, सुन्दरहरैचासम्मका मानिसहरु पनि रहेका छन् ।
व्यवसायी विश्वकर्मा फरार भएको थाहापाएछि पीडितहरु दैनिकजसो वडामा निवेदन दिन आइरहेका छन् । वडाअध्यक्ष भण्डारीका अनुसार ठगी गरेर फरार भएका व्यवसायीलाई पक्राउ गर्न, पीडितले पाउनुपर्ने रकम फिर्ताका लागि पहल गर्नका लागि विकको सुन पसल शिलबन्दी गर्नुका साथै उनीसहित उनको परिवारको चल अचल सम्पत्ती सबै रोक्का गर्ने प्रक्रिया सुरु भईसकेको बताए ।
वडाअध्यक्ष भण्डारीले फरार रहेका विश्वकर्माको खोजीकार्यमा सबैजनालाई सहयोग गर्न आग्रह समेत गरे ।
२०६० सालदेखि गौरादह बजार विकले सुनचाँदी व्यवसाय गर्दै आएका थिए । विश्वासिला व्यवसायी बिकसंग ग्राहकहरुले गरगहना तथा पैसाको कारोबार गर्दै आएका थिए ।
यसैवीच फरार भएका व्यवसायीको लेनदेन घटनाको निष्पक्ष छानवीन गर्न सरोकारवालाहरुको भेलाले गौरादह २ का वडाअध्यक्ष गोपाल कोइरालाको संयोजकत्वमा १३ सदस्यीय छानबीन समिति गठन गरि काम थालिएको नगर उपप्रमुख जलवर्षा राजवंशीले बताईन् ।

Leave a Reply

Your email address will not be published.