बिर्तामोड ,२३ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास ब्यक्त गरेका छन् ।नेपाली कांग्रेस झापाद्वारा आज विर्तामोडस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले आगामी एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने र आफूलाई प्रदेशसभामा विश्वासको मत प्राप्त हुने विश्वास ब्यक्त गरेका हुन् ।
‘३० दिनपछि विश्वासको मत प्राप्त भएपछि पदीय जिम्मेवारी शुरु हुनेछ’ थापाले भन्ने–‘बहुमत प्राप्त भएपछि गठबन्धन दलको सरकारले ४ बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नेछ ।’
विश्वासको मत प्राप्त भएपछि जनअपेक्षा र स्थानीय आवश्यकतालाई छलफल गरेर बजेटमार्फत सम्बोधन गर्ने धारणा राखे । सबैको सद्भाव र इच्छाशक्तिका कारण आफू मुख्यमन्त्री बनेको र यो सबैको उपलव्धि भएको उनको भनाइ थियो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गरेका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल, गोमा भट्टराई, प्रदेशसभा सांसद गोपाल तामाङ र लख्खीदेवी गणेश, नेपाली कांग्रेस कोशी प्रदेश समितिका सदस्यहरु, पार्टीका जिल्ला पदाधिकारी, सदस्य, स्थानीय तहमा कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधि , पार्टीका विभिन्न तहगत समितिका पदाधिकारी,सदस्य एवं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।