झापा,१२ जेठ । खुकुरी प्रहार गरी आज सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा एक जना युवतीको हत्या गरिएको छ ।सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । उनका अनुसार सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन् । उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन् । गदालले युवतीको हत्या गरेपछि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।
युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । गदाल बिहीबारमात्र नेपाल प्रहरीको तीन महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ । गए राति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ ।
बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हत्याको कारण भने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान शुरु गरिएको डिएसपी गोदारले जनाएका छन् ।