पहिचानको आन्दोलनलाई छेक्ने दलहरु आफै समाप्त हुन्छन् : डा.भट्टचन

दमक ,११ जेठ । मानवशास्त्री तथा आदिवासी अभियन्ता डा. कृष्णबहादुर भट्टचनले पहिचानको आन्दोलनलाई अपहेलना गर्ने दलहरु आफै समाप्त भएर जाने चेतावनी दिएका छन् ।आज दमकको किरात भवनमा कोशी प्रदेश नाम खारेजी तथा प्रदेश १ को पुनः नामाकंन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले प्रदेश नं १ को नामकरण पहिचान विरोधी भएकाले त्यसलाई स्वीकार्न नसकिने स्पष्ट पारे । आदिवासीको पहिचान आन्दोलन सफल भएर छाड्ने उनको भनाई थियो ।
उनले नेपालको आदिवासी आन्दोलन सफल भए भारत लगायत एसियाकै आदिवासी आन्दोलन सफल हुने र यसले अन्तर्राष्ट्रिय आदिवासीको आन्दोलनका लागि नमुना हुने दावी गरे ।

प्रमुख वक्ताका रुपमा रहेका डा.भट्टचनले आदिवासीका आवाज वा मुद्दाका विषयमा नश्लीयवादी चिन्तन बोकेका दलहरुले छेकथुन गरेको हुँदा उर्लिएको पहिचानवादीको भेलले कोशीलाई काशीमा पुर्याइदिने तथ्याङ्क सहित आफ्नो राय राखेका थिए ।

आदिवासीले लोकतन्त्र उन्मुख देशमा ०७२ को संविधानले दिएको अधिकार खोज्दा एमाले बाधक हुन्छ भने एमालेभित्र रहेर बसेका आदिवासी नेताहरुले बेलैमा नसोचे वंश गद्दारमात्र होइन यो भन्दा ठूलो क्षति व्यहोर्ने दिन आउँदै गरेको उनको टिप्पणी थियो ।
अभिमुखिकरण कार्यक्रममा लाहुरनिपका महासचिव शंखर लिम्बूले नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस पहिचानको पक्षमा आउँदै गर्दा एमालेको एकलौटि ढिप्पीपन स्वीकार्य नहुने बताए ।
विशेष अतिथि समेत रहेका अधिवक्ता लिम्बूले कोशी प्रदेश छलफल बिना आएको हुँदा जसले स्वीकृत गर्र्यो, उसैले सदनबाट फिर्ता नलिएको खण्डमा यो भन्दा ठूलो विद्रोह हुने चेतावनी दिए ।

झापा र मोरङ संघर्ष समितिद्वारा आयोजित कार्यक्रममा उपस्थित अन्य वक्ताहरुले कानुन सम्मत शान्तिपूर्ण विरोध सभालाई छेकथुन गर्नु प्रहरी प्रशासनको दमन स्वीकार्य नभएको बताउँदै हतियारबाटै आन्दोलनकारीलाई तह लगाउने हो भने सुरक्षित हुन आदिवासीले पनि हतियार उठाए त्यसको जवाफ राज्य सत्ताले दिन सक्छ ? भनेर प्रश्न गरे ।

झापा संघर्ष समितिका अध्यक्ष पाण्डवलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा मोरङ संघर्ष समितिका अध्यक्ष रामभक्त कुरुम्बाङले स्वागत गर्दै उद्देश्यमाथि प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published.