विराटनगर,११ जेठ । विराटनगरबाट ३६ केजी चाँदीका गरगहनासहित तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगरका विभिन्न ठाउँबाट चोरी गरिएको ३६ केजी चाँदी र आठ ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२ वर्षीय श्रीकान्त दासलाई पक्राउ गरिएको मोरङ प्रहरीका एसपी दीपक पोखरेलले जानकारी दिए । पक्राउ परेका प्रतिवादी र बरामद गरेको चाँदीसहित तीन जनालाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
गत जेठ ३ गते विराटनगर महानगरपालिकाका वडा नम्बर ३ पिपल चोकका जय किशोर चौधरीको घरमा चोरी भएको र त्यसको जानकारी पाउन साथ सूक्ष्म अनुसन्धान गरी चोरीमा संलग्नसमक्ष पुग्न सकिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लगातार सात दिनको निगरानीपछि उनीहरूलाई विराटनगर–१२ स्थित कोसी प्रोजेक्ट क्षेत्रबाट पक्राउ गरिएको हो । उनीहरूले चोरीका सामान भारतीय बजार लगेर बिक्री गर्ने गरिएको डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए ।
पक्राउ परेकाहरू चोरी कार्यमा यसअघि पनि सजाय भुक्तान गरी जेलबाट छुटेका थिए । बरामद सुनचाँदीको मूल्य ६१ लाख बराबर रहेको प्रहरीले जनाएको छ । चोरी गरिएको सुन भारत लगेर बिक्री गरिएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी पोखरेलले बताए ।