झापा, १० जेठ । झापामा कुष्ठरोगीको संख्या बढ्दै गएपछि घरदैलो खोज पड्ताल कार्यक्रम शुरु भएको छ । जिल्लाका १५ पालिकामध्ये छ वटा पालिकामा कुष्ठरोग घरदैलो खोज पड्ताल कार्यक्रम’ शुरु भएको हो ।
नेपाल कुष्टरोग संगती संस्थाले स्थानीय पालिकासँगको सहकार्यमा बिर्तामोड, हल्दिबारी ,कचनकवल , बाह्रदशी , कमल र गौरीगञ्ज गाउँपालिका यो कार्यक्रम शुरु गरेको हो । जसअन्तरगत बिर्तामोड कुष्ठरोग घरदैलो खोज पड्ताल कार्यक्रम शुरु भइसकेको छ ।
गत आर्थकि वर्ष २०७८-०७९ मा १२२ जना कुष्ठरोगी फेला परेकोमा चालु आर्थकि वर्षको १० महिनाको अवधिमा १४४ जना नयाँ रोगी फेला परिसकेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए ।
स्वास्थ्य कार्यालय झापाले उपचार पूरा भएका बिरामीलाई रू एक हजार प्रोत्साहन स्वरुप दिदैआएको छ । तर, कुष्ठरोगको संक्रमण अनुसार छ महिना र एक वर्ष औषधि सेवन गर्नुपर्ने भए पनि बीचमै औषधी सेवन गर्न छोड्ने दर धेरै रहेको छ । चालू आर्थकि वर्षमा औषधी सेवनवापतको प्रोत्साहन रकम १५ जनाले लिएको फोकल पर्सन दासले बताए ।
धेरैले बीचमै कुष्ठरोगको औषधी सेवन छाड्दा अंगभंग हुने अवस्थामा पुग्ने गरेको र पुनः सम्पर्कमा आएर औषधी सेवन गर्ने गरेको उनको अनुभव छ । “जनचेतनाको अभाव र भेदभावको डरले समाजमा धेरैले रोग लुकाएर बस्न बाध्य भएका छन”, उनले भने, “जसका कारण रोगले जरो गाड्दै गएको छ ।”
केही वर्ष अघिसम्म कुष्ठरोगका कारण शारीरिक अशक्तता भएकाहरुलाई सरकारले उपचारपछि बिउँ पुँजी दिएर आत्मनर्भिर बनाउने गरे पनि पाँच वर्षयता त्यस्तो कार्यक्रम नआएको दासले बताए ।