भुटानी शरणार्थीको गुनासो : ‘हाम्रो स्थिति बेचेर नेपाली नागरिक विदेशमा शरणार्थी’

झापा,२५ बैशाख । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पु¥याएका खबरले अहिले नेपाली मिडिया तथा संसद् तातेको छ। सरकारले उक्त प्रकरणको छानबिन गरिरहेको अवस्थामा भुटानी शरणार्थी भएको अचम्ममा परेका छन् ।
दर्ता भएका तथा दर्ता हुनबाट छुटेका गरी करिब ९ हजार भुटानी शरणार्थी अहिले मोरङको शनिश्चरे तथा झापा दमकको बेलडाँगी शिविरमा बसोबास गर्दै आएका छन् ।
युनएनएससीआर तथा अन्य दातृ निकायले दिने सेवा पनि अहिले दिन छाडेको छ। उनीहरूको शिक्षा तथा स्वास्थ्यको जिम्मेवारी अहिले स्थानीय तहले लिएको छ । सोमबार बिहान बेलडाँगी शिविर पुग्दा शिविर सचिव टिबी राईले आफू दुई चार दिनदेखि नक्कली शरणार्थी प्रकरणका समाचार मिडियामा आएको देख्दा वा सुन्दा अचम्ममा परेको सुनाए ।
उनले भने, ‘यस्तो कुरा सुन्दा-पढ्दा दुःख लाग्छ। सत्य कुरा के हो भन्ने कुरा उहाँहरूलाई नै थाहा होला। छानबिन भइरहेकै होला। तर यति चाहिँ हो, जो–जो नक्कली शरणार्थी बन्नु भयो, उहाँहरूलाई के नपुग्दो थियो र । आखिर पैसा नै खर्च गरिएको रहेछ ।’
मान्छे भएर पनि आफूहरूले मान्छेको जस्तो इज्जत नपाएकाले कसैले पनि शरणार्थी बन्नु नपरोस् भन्ने चाहना आफूहरूसँग रहेको राईले बताए ।
राईले भने, ‘हामी यहाँ शरणार्थी, धनाढ्यहरू विदेशमा शरणार्थी। राष्ट्र र राष्ट्रियता के हो भन्ने कुरा हामीलाई सोध्नु। देशको माया कति छ भन्ने कुरा हामीलाई थाहा छ। अनि, आफ्नो देश सुरक्षित हुँदाहुँदै पैसा खर्च गरेर शरणार्थी भएर अर्काको देश किन जानुप¥यो?’

बेलडाँगी शिविरमा सानो पसल चलाएर गुजारा गर्दै गरेकी दुर्गामाया बिष्टले आफ्नो जग्गा जमिन बेचेर नक्कली शरणार्थीको ‘बिल्ला’ भिर्ने काम जस्ले गरे पनि यो अमानवीय काम भएको बताइन् ।
बिष्टले भनिन्, ‘आफ्नो यत्रो सम्पत्ति हुँदा पनि मान्छेलाई लोभले नक्कली शरणार्थी बनाउँदो रहेछ । आफ्नो देश हुँदा पनि यत्रो पैसा खर्च गरेर अर्काको देश किन जानुप¥यो? हामी साँच्चैका शरणार्थी चाहिँ खोलाको बगरमा ताता घाममा दुःख गर्नुपरेको छ । हुनेखानेलाई चाहिँ शरणार्थी हुनुपर्ने रे। अचम्मै लाग्छ ।’
भुटानी शरणार्थी शिविरमा अहिले वृद्ध–वृद्धा, अपांगता भएका तथा कमाएर खान नसक्नेहरू बस्ने गरेका छन्। तेस्रो देश पुनर्स्थापनाको कार्यक्रम अहिले स्थगित छ । कतिपयका छोरा–छोरी अमेरिकालगायत मुलुक पुगिसके पनि बाबु–आमा शिविरमा छन्। परिवार विखण्डित छ ।
बिष्ट भन्छिन्, ‘हाम्रा छोरा–छोरी संसारको पल्लो कुनामा छन् । हामी यहाँ छौँ। हाम्रो कुरा चाहिँ सुन्दैन सरकार । अनि क–कसलाई हो, शरणार्थी बनाएर अमेरिका पठाउँछ ।’
कतिपय शरणार्थीले भने भुटान फर्कन चाहनेहरूको मागलाई सरकारले सम्बोधन नगरेको र भुटानसँग वार्तासमेत नगरेको गुनासो छ । बेलडाँगी शिविरका डुकबहादुर बिष्टले आफूलगायत धेरैको यही माग सरकारले सम्बोधन नगरेर अनेकौं नेपाली नागरिकलाई शरणार्थी बनाएर विदेश पठाएको बताए । (देशदेशान्तर )

Leave a Reply

Your email address will not be published.