दमक, १३ बैशाख । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्लासहित कोशी प्रदेशका विभिन्न कार्यक्रममा सहभागि हुन आज झापा आउदै छन् ।चार दिनसम्म प्रदेशका विभिन्न जिल्लाका कार्यक्रमहरुमा सहभागि हुनका लागि उनीसहित पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ झापा आउदै छन् ।
पार्टीका प्रदेश कमिटी सचिव चिन्तन पाठकका अनुसार अध्यक्ष ओली आज बिहान काठमाडौंबाट भद्रपुर आउने कार्यक्रम छ । झापाको बुद्धशान्ति गाउँपालिकामा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई अध्यक्षसहित उपाध्यक्ष नेम्वाङले सम्बोधन गर्ने कार्यक्रम रहेको पाठकले जानकारी दिए । अध्यक्ष ओली आज इलामको पर्यटकीय क्षेत्र कन्याममा बस्ने तय भएको छ । भोलि इलाममा आयोजना हुने जिल्ला परिषद भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । भोलि उनी पाँचथरको फिदिममा बास बस्ने कार्यक्रम छ।
बैशाख १५ गते अध्यक्ष ओली आफ्नो जन्म गाउँ तेह्रथुमको आठराईमा सिटिइभिटीले निर्माण गरेको टेक्निकल कलेजको उद्घाटन गर्ने कार्यक्रम छ । सो ठाउँमा आफ्ना बाल्यकालका साथीहरुसँग भेटघाट र पुनर्मिलनको कार्यक्रम समेत राखिएको छ । तेह्रथुमको कार्यक्रम सकेर अध्यक्ष ओली फिदिममै बस्ने र १६ गते बिहान फिदिममा कार्यकर्ता भेटघाट कार्यक्रम सकेर अध्यक्ष ओली झापाको दमकमा आउने कार्यक्रम रहेको छ । दमकमा पार्टीले आयोजना २८ गते देखि आयोजना गरेको केन्द्रीय कमिटी बैठकको तयारीका बारेमा जिल्ला र प्रदेशका नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य होमबहादुर थापाले जानकारी दिए ।
बैठक स्थलको निक्र्यौल,नेताहरुको बासस्थानको व्यवस्था,बैठकपछि झापाका विभिन्न राजनीतिक र पर्यटकीय स्थलहरु नेताहरुलाई अवलोकन गराउने ठाउँहरु टुंगो लगाइने थापाले जानकारी दिए।
१७ गते अध्यक्ष ओली झापाबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।