झापामा साढे चार लाखले पाए राष्ट्रिय परिचयपत्र

झापा ,१३ कार्तिक । झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय झापाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि आठ लाख ६४ हजार ८१६ जनाको विवरण दर्ता भएको छ । तीमध्ये पाँच लाख ५३ हजार ५४८ जनाको परिचयपत्र केन्द्रबाट प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले जानकारी दिए ।

केन्द्रबाट प्राप्त भएकामध्ये एक लाख एक हजार ८४४ वटा परिचयपत्र वितरण गर्न बाँकी छन् । मृत्यु भएका, वैदेशिक रोजगारीमा गएका तथा काम विशेषले जिल्ला बाहिर रहेका व्यक्तिका परिचयपत्र वितरण हुन नसकेको रायमाझीले बताए । ‘राष्ट्रिय परिचयपत्रको कार्ड लिन सम्बन्धित व्यक्ति आफैँ उपस्थित हुनुपर्ने प्रावधान छ,’ उनले भने ।
झापामा जिल्ला प्रशासन कार्यालय भद्रपुर तथा इलाका प्रशासन कार्यालय गौरीगन्ज र दमकबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र कार्ड वितरण हुँदै आएको छ ।

चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा जिल्ला प्रशासन कार्यालयबाट २४ हजार ६४६ जनाको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिएको छ । यस अवधिमा तीन हजार ७७८ जनालाई नागरिकता वितरण गरिएको छ भने चार हजार ४४८ जनालाई नागरिकताको प्रतिलिपि प्रदान गरिएको छ ।

त्यसैगरी, तीन हजार १३९ जनालाई राहदानी वितरण र पाँच हजार ७३६ जनालाई राहदानीका लागि सिफारिस गरिएको त्रैमासिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार तीन हजार ५३५ वटा वंशजका आधारमा, १८० वटा वैवाहिक अङ्गीकृत, ४६ वटा अङ्गीकृत, १६ वटा गैरआवासीय र एउटा जन्मसिद्ध आधारको नागरिकता वितरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सर्वसाधारणलाई छिटो, छरितो र सहज सेवा प्रदान गर्न कार्यालयले सेवाग्राहीको भौतिक उपस्थितिमा निर्भरता घटाउने ‘फेसलेस सेवा’ र शून्य बाँकी आवेदन अभियान सञ्चालन गरिरहेको बताए ।

राहदानी र राष्ट्रिय परिचयपत्रका लागि अग्रिम आवेदन दिएर लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीलाई बिहानैदेखि तथा बिदाका दिनमा समेत सेवा प्रदान गरेर पुराना आवेदनको चाप घटाइएको पोखरेलले जानकारी दिए ।

उनका अनुसार अहिले आवेदन दिएको दिनमै सेवा लिने र जैविक विवरण (बायोमेट्रिक) दर्ता गर्ने सुविधा उपलब्ध छ । सेवाग्राहीको सहजताका लागि कार्यालयमा आवश्यक भौतिक संरचना निर्माण गर्नुका साथै सहायता कक्षलाई समेत व्यवस्थित बनाइएको छ ।

Leave a Reply

Your email address will not be published.