दमक,८बैशाख । लेखक तथा श्रष्टा उपेन्द्र सुब्बाद्धारा निर्देशित सिनेमा ‘जारी’ दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो हप्ता बक्सअफिसमा बम्पर व्यापार गरेको यस सिनेमाले दोस्रो हप्तामा पनि लोभलाग्दो आकर्षण देखाईरहेको छ ।
प्रदर्शनमा आएको दोस्रो शुक्रबार पनि हलमा ‘जारी’ हेर्ने दर्शकको चाप उस्तै रहेको दमकको पाथिभरा चित्र मन्दिरका सञ्चालक तथा चलचित्र बितरक चैतन्य बरालले बताए । चलचित्र हेर्न कहिलै हलमा आई नपुगेका दर्शकहरु पनि अहिले हलमा आईरहेको उनले बताए । यसअघि अधिकांश चलचित्रका दर्शकहरु युवापुस्ता धेरै हुने भए पनि जारी हेर्न आउने दर्शक कुनै एउटा उमेर समूहको मात्रै नभएको उनले उल्लेख गरे । परिवारनै चलचित्र हेर्न आईरहेको बरालले सुनाए ।
दोस्रो साता हुँदा पनि चलचित्र दैनिक चार शो प्रदर्शन भैरहेको भन्दै उनले कोशी प्रदेशका अधिकांश हलहरुमा दर्शकको चाप उत्तिकै रहेको उल्लेख गरे । दैनिक नयाँ नयाँ दर्शकहरु हलमा आईरहेको बरालले बताए ।
जारी प्रथामा आधारित रहेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बिजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ ।