दमक, २ बैशाख । झापाको गौरादह नगरपालिका –५ स्कूलचौन वजारस्थित स्कूलचौन माध्यमिक विद्यालयका २०४९ का एसएलसी व्याच समूहले नयाँ वर्ष –२०८० सालको उपलक्ष्यमा पूर्नमिलनसहित शिक्षकहरुलाई सम्मान गरेको छ ।
नयाँ वर्षको पहिलोदिन शुक्रवार समूहले स्कूलमा नयाँ वर्षको शुभकामना, पूर्नमिलनसहित विद्यालयको शैक्षिक विकासमा योगदान पुरयाँउने पूर्व शिक्षक तथा अग्रजहरुलाई सामूहिक रुपमा सम्मान गरेको हो ।
स्कूलका पूर्व विद्यार्थी समाजका संयोजक छत्र सुब्बाको अध्यक्षतामा भएको पूर्नमिलन तथा सम्मान कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यता र गौरादह नगर प्रमुख छत्रपति सुवेदी, संविधानसभा सदस्य दिपक कार्कीको विशिष्ट आतिथ्यता रहेको थियो । यसरी सम्मानित हुनेमा पूर्वशिक्षक समेत रहेका गौरादह १ का वडाअध्यक्ष नगेन्द्र भण्डारी, ४ का वडाअध्यक्ष दुर्गामणी वस्नेत, ५का वडअध्यक्ष जगनाथ खनाल,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार खरेल, पूर्व अध्यक्ष बेदु भण्डारी, भवानी फूयल लगायत रहेका छन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कार्की, नगरप्रमुख सुवेदी लगायतले सम्मान प्रदान गरेका थिए । सम्मान प्रदान गदैं मुख्यमन्त्री कार्कीले शिक्षाको गुणस्तर सुधार भए मात्र देशले समृद्धि हासिल गर्न सक्ने औल्याएका थिए।
संयोजक सुब्बाका अनुसार करिव १५ वर्ष पछि २०४९ का एसएलसीका पूर्व विद्यार्थीहरुको अगुवाईमा आफू अध्ययन गरेको विद्यालयमा यस किसिमको भव्य कार्यक्रम गरिएको हो । कार्यक्रम सम्पन्न गर्न अन्तराष्ट्रिय झापाली समाजका निर्वतमान अध्यक्ष समेत रहेका सुब्बाको संयोजकत्वमा एक तयारी आयोजक समिति गठन गरिएको थियो । सम्मान कार्यक्रम गर्न त्यहाँ अध्ययनरत पूर्व विद्यार्थीहरुले सहयोग पुरयाँएका थिए ।