दमकमा स्ववियू निर्वाचन : नेविसंघबाट न्यौपाने, अखिलबाट राईको सभापतिमा उम्मेदवारी

दमक,२७ फागुन । यहि चैत ५ गते हुन गईरहेको दमक बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा दुई मुख्य दलका विद्यार्थी संगठन वीच प्रतिष्पर्धा हुने भएको छ ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, जसपा र नेकपा एसका विद्यार्थी संगठनवीच तालमेल गरेको छ भने नेकपा निकट अखिलसहित नेकपा माओवादी केन्द्र,राप्रपा निकट विद्यार्थी संगठनवीच तालमेल गरि निर्वाचनमा होमिएका छन् ।
नेविसंघबाट सोबिम न्यौपानेलाई सभापतिका उम्मेदवार बनाएको छ । राप्रपा निकट विद्यार्थी संगठन त्यागेर उनी नेविसंघ प्रवेश गरि स्ववियू सभापतिका उम्मेदवार भएका हुन् ।
राप्रपा निकट राप्रविसंघका पूर्व इकाइ सभापति तथा जिल्ला सहसचिव समेत रहेका न्यौपाने क्याम्पसका लोकप्रिय मानिन्छन् । न्यौपानेलाई कांग्रेस जिल्ला उपसभापति शेरबहादुर भट्टराई, नगर सभापति प्रकाश प्रसाईँ सहितका नेताहरुले स्वागत गरेका थिए । नेविसंघबाट सभापतिमा न्यौपानेसहित सचिवमा दिपक मादेन र कोषाध्यक्षमा एस निकट रविन अधिकारी उम्मेद्वार रहेको नेविसंघका नेता नवराज ढकालले जानकारी दिए ।
यता एमाले निकट अनेरास्ववियू, माओवादी निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंघ वीच तालमेलबाट अखिलले स्ववियू सभापतिमा निशेष राई (नितेस ) , राप्रविसंघबाट सचिवमा रविन ढकाल र क्रान्तिकारीबाट कोषाध्यक्षमा उमा राईको उम्मेद्वारी दिएको एमाले दमक नगर उपसचिव सन्तोष दुलालले जानकारी दिए ।
अखिलबाट सभापतिसहित ३ सदस्य, राप्रविसंघले सचिवसहित ३ सदस्य र क्रान्तिकारीले कोषाध्यक्षसहित २ सदस्य लिने सहमति भएको छ ।
स्ववियूमा ११ जना भने प्रत्यक्ष निर्वाचनबाट चुनिन्छन भने १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । दमक बहुमुखी क्याम्पसको स्वबियूमा यस अघि पनि नेबिसंघले सभापति जितेको थियो । यस क्षेत्रको ठूलो शैक्षिक संस्थाको रूपमा दमक बहुमुखी क्याम्पस रहिआएको छ । यस पटकको निर्वाचनमा करिब ३ हजार २ सय बिद्यार्थी मतदाताका रूपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published.