झापा, ७ माघ । कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बनेकी छन् ।झापाको अर्जुनधारा–११ सालबाडी निवासी उनको अभिभावकत्वमा दुईवटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा छन् । जहाँ झापाबाट पाल्पासम्मका कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीका दुई हजार असहाय छोराछोरीले आश्रय मात्र होइन, शिक्षादीक्षा पनि पाइसकेका छन् ।
जीवनका ५२ वर्षे उकाली–ओराली बिताइरहेकी उनलाई आज प्रतिनिधिसभाको बैठकले उपसभामुख पदमा निर्वाचित ग¥यो । अब उनी कैदीबन्दीका छोराछोरीहरूको मात्र नभएर ‘संसद्कै नेतृत्व’ गर्ने महत्वपूर्ण जिम्मेवारीमा पुगेकी छन् ।
बुवा स्व .प्रताप रानामगर र आमा स्व. मनमाया रानामगरको कान्छी सुपुत्रीका रूपमा विसं २०२७ मा झापाको अर्जुनधारामा जन्मिएकी उनले २२ वर्षअघि दुईवटा कोठा भाडामा लिएर काठमाडौँमा कैदीबन्दीका असहाय छोराछोरीलाई आफ्नै संरक्षणमा लालनपालन गर्न थालेकी थिइन् । उनलाई यसका लागि प्रसिद्ध साहित्यकार पारिजातले प्रेरणा दिएको उनको बुझाई छ ।
घर छाडेर काठमाडौँमा पढ्न जाँदा उनलाई पारिजातले नै संरक्षण प्रदान गरेकी थिइन् । अर्जुनधाराको महारानीगञ्ज प्राथमिक विद्यालयको कक्षा ४ मा १२ वर्षको उमेरमा भर्ना भएर उनले औपचारिक शिक्षा प्रारम्भ गरेकी उनका दाजु जगत् रानामगरले बताउँछने । उनले समाजशास्त्रमा स्नातकोत्तर तहको शिक्षा प्राप्त गरिसकेकी छन् । उनकी एउटी छोरी सुविना राना छन्।
पारिजातले सञ्चालन गरेको मानवअधिकारवादी संस्थामा उनले स्वयंसेवक बनेर मानवीय सेवाको थालनी गरिन् । पारिजातसँगै कारागार जाँदा उनले कैदीबन्दीका दुःख र पीडामात्र नभएर तिनका सन्तानको अलपत्र अवस्थाको समेत जानकारी पाइन्।
उनले बन्दी सहायता नेपालमार्फत झापा, पाल्पा, काठमाडौँलगायत स्थानमा बाल संरक्षणगृह सञ्चालन गरिआएकी छन् । तिनीहरूलाई पढाउन दुईवटा प्राथमिक विद्यालय सञ्चालन गरेकी उनले नै झापामा सञ्चालन गरेकी जुनकेरी आधारभूत विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले जानकारी दिए।
बन्दी सहायता नेपाल (पीए नेपाल)की अध्यक्ष इन्दिरा राना राजनीतिमा लागेको धेरै भएको छैन् । उनी लगातार बालअधिकार र मानवीय सेवामा लाग्दैआएकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गठन हुँदासमेत उनी कुनै पार्टीमा थिइनन्।
रास्वपाका अध्यक्ष रवि लामिछानेले समाजसेवाबाट राजनीतिमा आउन आग्रह गर्दा उनी सुरुमा अलमलिएकी उनको बुभ । भुइँमान्छेको सेवामा लागिरहेको हुँदा राजनीतिमार्फत पनि समाजसेवा नै हुने कुरामा सहमत भएपछि उनी राजनीतिमा होमिएकी थिइन्। छोटो अवधिमै रास्वपाले उनलाई समानुपातिक सिटबाट सांसद् निर्वाचित ग¥यो । अब उनको जिम्मेवारी सांसदबाट धेरै माथि उक्लिएर संसद्कै अभिभावक अर्थात् उपसभामुख तहमा पुगेको छ ।
उपसभामुख पदमा पुगेपछि दलगत राजनीतिमा सक्रिय हुने परम्परा छैन । उपसभामुख राना पनि छोटो अवधिमै राज्यको उपल्लो मध्येको पदमा पुग्न सफल भईन् । उनी आफूलाई जहिल्यै भुइँमान्छेको रूपमा चिनाउछिन् ।
एक साताअघि झापास्थित बाल संरक्षणगृहमा सांसदको रूपमा आउँदा उनले आफू जुनसुकै ओहोदामा पुगे पनि कैदीबन्दीका बालबच्चाहरूको आमाका रूपमा आफ्नो भूमिका कहिल्यै नफेरिने भावुक अभिव्यक्ति दिएको थियो । “हिजो भुइँमान्छे थिएँ, आज पनि उही भुइँमान्छे नै हुँ”, उनले भनिन् , “हिजो बालअधिकारका लागि सडकबाट कराउँथे, कसैले सुन्दैन थिए । अब त्यही आवाज संसद्भित्र गुञ्जाउँछु । मेरो आवाज अब सुनिनेछ भन्ने विश्वास लिएकी छु ।”
सन् २००० मा बन्दी सहायता नेपाल स्थापना गरेपछि उनको योगदानले चर्चा मात्र होइन, सम्मान पनि पाउन थाल्यो । सन् २००५ मा उनले प्रतिष्ठित ‘अशोका फेलो’ पाइन् । विभिन्न दाता र शुभचिन्तकहरूले उनको सत्कर्मलाई साथ दिँदै आर्थिक सहयोग पनि गर्न थाले । पुरस्कार र सम्मानवापत पाएको सबै साधन स्रोत उनले व्यक्तिगत वा पारिवारिक स्वार्थमा कहिल्यै लगाईनन् । बाल संरक्षणको सञ्चालनमा सबै साधन र स्रोत खर्चिइन् ।
सन् २००९ मा उनले ‘एसिया जनसेवा’ अवार्ड पाईन्। सन् २०१४ मा उनले नोबेल पुरस्कार विजेता पाकिस्तानकी युसुफ मलाला र अमेरिकी जोन उडसँगै प्रतिष्ठित ‘वल्र्ड चिल्ड्रेन अनररी अवार्ड’ प्राप्त गरिन् । यी सम्मानहरूले उनको व्यक्तित्व अन्तर्राष्ट्रिय जगत्मा सुवासित भयो ।
सन् २०१७ मा बिबीसीले विश्वका सिर्जनशील महिलाहरूको सूचीमा नेपालकी इन्दिरा रानाको नाम समेट्यो । देशको ख्यातिलाई अन्तर्राष्ट्रिय मञ्चमा आलोकित बनाउने रानालाई उपसभामुखको पदमा पु¥याउनु भनेको सदनकै गरिमा बढाएको रास्वपाकी सांसद् सोविता गौतमले बताइन् ।