दमक जेसीजद्धारा महिला स्वास्थ्य सचेतना कार्यक्रम

दमक, ३१ जेठ । दमक जेसीजले महिलाहरुलाई लक्षित गरि सचेतनामूलक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरेको छ । महिलाहरूमा स्वास्थ्यप्रति जागरण अभिवृद्धि गर्ने उद्देश्यले शनिवार दमकमा आयोजित कार्यक्रममा २ सय बढी महिलाको सहभागिता रहेको थियो ।

कार्यक्रममा विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालकी स्त्रीरोग तथा क्यान्सर रोग विशेषज्ञ डा. ज्योति भजु लामाको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले महिलामा हुने विभिन्न प्रकारका क्यान्सर, त्यसको समयमै पहिचान तथा रोकथामका उपायबारे जानकारी गराएको थियो।
त्यसैगरी अनिता उप्रेती तथा मनोसामाजिक परामर्शदाता प्रमिला गौतमले महिलामा देखिने स्वास्थ्य समस्या, मानसिक स्वास्थ्य तथा मनोसामाजिक पक्षका विषयमा सचेतनामूलक प्रस्तुति दिएका थिए ।

दमक जेसीजका अध्यक्ष राजेन्द्र बिमलीको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसीआई सिनेटर विदुर थापा, दमक नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख केशव प्रसाई, दमक जेसीजका पूर्व अध्यक्षहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमको संयोजन दमक जेसीजकी पर्यवेक्षक सदस्य अनु भण्डारीले गरेकी थिइन् । त्यस्तै, जेसीज आस्था पाठ दमक जेसीजका उपाध्यक्ष कुमार गजुरेलले वाचन गरेका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन महासचिव रुबल अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.