दमक,१ असार । दमक नगरपालिकाले धिमाल जातिको महत्त्वपूर्ण सांस्कृतिक पर्व सिरिजातको अवसरमा भोलि असार २ गते एक दिन नगरभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नगर कार्यपालिकाको बैठकको निर्णयानुसार उक्त दिन एक दिनका लागि स्थानीय बिदा दिइएको हो। दमक नगरपालिकाका प्रमुख रामकुमार थापाद्वारा जारी सूचनामा नगरकै प्रथम नागरिकका रूपमा सम्मानित धिमाल समुदायले मनाउने सिरिजात पर्वको उपलक्ष्यमा बिदा दिने निर्णय भएको उल्लेख छ।
धिमाल समुदायको परम्परागत संस्कृति र पहिचानलाई सम्मान गर्दै नगरपालिकाले हरेक वर्ष यो पर्वमा बिदा दिँदै आएको छ। बिदाको दिन नगरपालिका अन्तर्गतका प्रशासनिक कार्यालयहरू तथा नगरभित्रका शैक्षिक संस्थाहरू बन्द रहने छन्। नगरपालिकाले धिमाल जातिलाई विक्रम संवत २०७४ साल असोज ३० गते सोमबारका दिन प्रथम नागरिक घोषणा गरेको हो ।
