दमक,५ माघ । नेपाली कांग्रेस निकट लोकतान्त्रिक व्यवसायी संघले दमक–६ नमुना बजारमा आइतवार भएको आगलागीबाट पीडित भएका ब्यबसायीहरुलाई राहत तथा पुनस्र्थापनाका लागी रु १ लाख १५ हजार आर्थिक सहयोग दिएको छ ।
उक्त सहयोग नगरपालिकाद्धारा गठित आगलागी पीडितका लागि राहत तथा पुर्नस्थापना समितिलाई हस्तान्तरण गरिएको संघका अध्यक्ष बबरजंग थापा (किरण ) ले जानकारी दिए । उनका अनुसार सहयोग जुटाउन दमक उद्योग वाणिज्य संघको भोलि हुन गइरहेको निर्वाचनमा उम्मेदवार भएका तथा शुभेच्छुकहरुले स्वेच्छिक आर्थिक सहयोग गरेका थिए ।
दमक नगरपालिकाकी उप प्रमुख रेगीना भट्टराई (प्रसाई )को संयोजकत्वमा जनप्रतिनिधि, व्यवसायीहरुको सहभागितामा उक्त समिति गठन गरिएको छ । पीडितहरुलाई एकद्धार प्रणालीमार्फत राहत तथा पुर्नास्थापनामा सघाँउ पुरयाँउन उद्देश्यले गठित सो समितिमा विभिन्न व्यक्ति,संस्था लगायतका क्षेत्रबाट सहयोग जुट्ने क्रम रहेको संयोजक उपप्रमुख भट्टराईले बताईन् । समितिले राहत संकलनमा सहयोग पुरयाँउन इच्छुक सवैसंग सहयोगको अपिल समेत गरिएको उनले उल्लेख गरिन् ।
गत आइतवार विहान आगलागी हुदाँ त्यहाँका जुत्ताचप्पल,कपडा,कष्मेटिक लगायतका नौ वटा पसल पूर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट रु २ करोड बढीको धनमालमा क्षति पुगेको थियो ।
आगलागी विद्युतसर्ट नभई दुई जना व्यक्तिले लगाएको सिसिटीभीको फूटेजबाट देखिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । आगजनी गर्ने एक जना समातिएका छन् भने अर्को एक जनाको खोजी भईरहेको प्रहरीले बताएको छ ।
डिएसपी दिलीप गिरीका अनुसार आगलागीबाट राजु श्रेष्ठ,संगीता श्रेष्ठ,विजय श्रेष्ठ,कृष्ण न्यौपाने र पुनम घिमीरेको पसल पूर्ण रुपमा जलेर नष्ट भएको थियो भने घटनास्थल छेउछाउका चार वटा पसलहरु भत्काउनु परेको थियो ।