मोरङ कारागारका एक कैदीबन्दीको मृत्यु

विराटनगर ,१६ कार्तिक । जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम आठराई गाँउपालिकाका  ५४ वर्षिय मानबहादुर खपाङ्गी रहेका छन् । विराटनगरको हाटखोलास्थित कारागारका निमित्त जेलर तुलसीराम भगतले स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि कोशी अस्पतालमा भर्ना भएका मङ्गलबार बेलुका खपाङ्गीको मृत्यु भएको जानकारी दिए ।

भगतका अनुसार खपाङ्गीलाई जिल्ला अदालत तेह्रथुमले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई २०७४ माघ ९ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो । यसक्रममा खपाङ्गीले तेह्रथुम कारागारमा २ वर्ष बिताइसकेका थिए । खपाङ्गीलाई तेह्रथुमबाट २०७६ मंसिर २४ गते स्थानान्तरण गरेर मोरङ ल्याइएको निमित्त जेलर भगतले जानकारी दिए ।
यसक्रममा, बिरामी परेपछि उपचारका लागि कात्तिक १२ गते बिहान खपाङ्गीलाई विराटनगरस्थित कोशी अस्पताल भर्ना गरिएको थियो । खपाङ्गीमा पेटसम्बन्धी पुरानै समस्या रहेको थियो ।
हाल मृतकको शव कोसी अस्पतालमा राखिएको छ । कारागारका अनुसार घटनाबारे खपाङ्गीका आफन्तलाई जानकारी भइसकेको छ ।

Leave a Reply

Your email address will not be published.