गौरीगञ्जमा हुक्काहुक्की, जग्गादाता तथा जनप्रतिनिधिहरु सम्मानित

गौरीगंज ,८ कार्तिक । दिपावलीको अवसरमा पूर्वी नेपालका आदिवासी समुदायले धुमधामसंग सामूहिक रुपमा हुक्काहुक्की खेलको आयोजना गरेर मनाउँदैछन् । यसैक्रममा राजवंशी समाज विकास समिति गौरीगञ्ज र राजवंशी समाज विकास समिति वार्ड नं ६ को संयुक्त आयोजनामा सोमबार गौरीगञ्जमा सामूहिक हुक्काहुक्की , सांस्कृतिक तथा सम्मान कार्यक्रमको आयोजना गरि मनाएको हो ।
तराईका आदिवासी समुदायले परम्परागत रुपमा मनाउदै आएको हुक्काहुक्की खेल दादो दादी भनेर हजुरबा हजुरआमालाई सम्झिदै मनाउदैआएका छन् । पूर्वका राजवंशी, ताजपुरिया,गन्गाई,माझी समुदायले हुक्काहुक्की मनाउदैआएको राजवंशी समाज विकास समितिका गौरीगंज अध्यक्ष गोपाल प्रसाद राजवंशीले बताए ।
दादो दादी हुक्का दे भन्दै सुन्ठीमा आगो बालेर आकाशतिर फाल्ने खेल हुक्का हुक्की विशेषतः लक्ष्मीपूजाको दिन साँझमा खेल्ने गरिन्छ ।
दिवंगत हजुरबुबा, हजुरआमा वा जोसुकै पितृहरुलाई ‘हामीले तिमीलाई सम्झिएका छौं हामीलाई आशीर्वाद देउ’ भनी आशीर्वाद माग्दै हुक्काहुक्की खेल्ने परम्परा रहेको आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका सदस्य सचिव कमल प्रसाद राजवंशी बताउँछन् । लक्ष्मी पूजाको विहानै आ–आफ्नो धान खेतमा गई अरु भन्दा हाम्रो धान राम्रो फलोस, अरुको धान भन्दा हाम्रो धान दुधको जस्तो होस भन्दै आर्शिवाद माग्ने गर्छन् । खेतबाट इलुवा (एकप्रकारको घाँस ) घरमा ल्याएर सुन्ठीलाई बाधेर हुक्का बनाउँछन् । घरको देवता र महाराजथानमा हुक्का चडाएर देवतासँग घरका सबै सदस्यलाई वर्षभरि निरोगी र सुख सयलमा राख्नु भन्दै आर्शिवाद लिने चलन छ ।
साँझपख सामूहिकरुपमा हुक्कामा आगो सल्काएर हुक्का हुक्की खेल खेल्ने गर्छन् । हुक्का हुक्की खेल खेलिसकेपछि मान्यजनहरुबाट आर्शिवाद लिई प्रसादको रुपमा पिठ्ठ (चामलको पिठोले बनाएको एक परिकार )खाने चलन रहेको छ ।
हुक्काहुकी खेल आदिवासी समुदायमा विशेष महत्व रहेको र समयको परिवर्तनसँगै सांस्कृतिक महत्व बोकेको हुकाहुकी पर्व सुन्ठीको अभाव र युवापुस्तामा पर्वबारे जागरुकताको कमीले दिनानुदिन लोप हुदै गएको सदस्य सचिव राजवंशीको भनाई छ ।
जग्गादाता तथा जनप्रतिनिधिहरु सम्मानित
गौरीगञ्जमा भएको कार्यक्रममा राजवंशी समाज विकास समितिको केन्द्रीय भवन निर्माणका लागि ३ कठ्ठा जग्गा दान दिएका धन्ञ्जय राजवंशी र महाविर चिलाराय स्तम्भको निर्माणका लागि १० धुर जग्गा निशुुल्क दान दिएका कृष्णप्रसाद राजवंशीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यसैगरी गत स्थानीय तहको निर्वाचनमा गौरीगञ्ज गाउँपालिकामा राजवंशी समुदायबाट निर्वाचित पालिका अध्यक्ष फूलवती राजवंशीसहित ९ जना जनप्रतिनिधिलाई समेत सम्मान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published.