माङसेबुङमा मंसिर दोश्रो सातादेखि आत्मानन्द कप

इलाम, ६ कार्तिक । इलामको माङसेबुङमा आयोजना हुदैआएको ५ औं संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगिता आगामी मंसिर दोस्रो सातादेखि सुरु हुने भएको छ ।
किरात धर्मका वर्तमान धर्मगुरू आत्मनन्द लिङ्देनको ६९औँ जन्मोत्सवमा आयोजना गरिने प्रतियोगिता मंसिर ९ देखि १७ गतेसम्म सञ्चालन हुने भएको आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।
गुरुपत्नी पवित्रा हाङ्मा साँवा लिङ्देनको नुमाङगेन्ना सेवाको समेत अवसर पारेर धार्मिक पर्यटकीयस्थल इलामको माङसेबुङमा हुने प्रतियोगितामा नेपालका विभिन्न जिल्कला र भारतको दार्जिलिङसमेतबाट गरी ८ टिमको सहभागिता रहने छ ।
शनिबार इलाममा आयोजित पत्रकार सम्मेलनमा यक्चुमका अध्यक्ष आङबुहाङले दिएको जानकारी अनुसार आत्मानन्द कपको यस संस्करणमा नेपालबाट एचएफसी सुनसरी, छथर गाउँपालिका तेह्रथुम, कर्णसिं सोनाम एफसि ताप्लेजुङ, तिजोक युवा क्लब पाँचथर, चारतारे युवा क्लब, मोरङ, जलथल एफसि झापा र माङसेबुङ गाउँपालिका टिम सहभागी हुने निश्चित भएको छ । यसैगरी, भारतको दार्जिलिङबाट एमएफिसि सहभागी हुने निश्चित भएको छ ।
प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ६९ रूपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ६९ रूपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने जनाईएको छ ।
त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि नगद पुरस्कारबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

फुटबलका अतिरिक्त म्याराथन, पक्लुङ लेप्मा (छेलो हान्ने ), कराँतेलगायतका खेल आयोजना हुने भएको छ । आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा समारोहको मूल आयोजनामा प्रतियोगिता वर्षेनी सञ्चालन हुँदै आइरहेको छ । प्रतियोगिताका लागि माङसेबुङ गाउँपालिकाले समेत सहयोग गर्दै आएको छ ।
गतवर्ष आत्मनन्द कप उपाधि माङसेबुङ गाउँपालिकाको टिमले जितेको थियो ।
२०६५ सालमा धर्मगुरू लिङ्देनको ५५ औं जन्मोत्सवको अवसरमा २० हजार ५५ रूपैयाँ राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यस वर्ष ३ लाख ११ हजार १ सय ६९ रूपैयाँ पुगेको हो ।
प्रतियोगिता सञ्चालनका लागि लाग्ने खर्च किरात धर्मावलम्बी भक्तजनहरु र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरिने अध्यक्ष आङबुहाङले बताए ।

Leave a Reply

Your email address will not be published.