दमक, ३० भदौं । दमक -५ बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभाले पुनः दिपक खरेलको अध्यक्षतामा आगामी ४ बर्षे कार्यकालका लागि सञ्चालक समितिमा चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा रोशनकुमार गौतम, सचिवमा ज्ञाननाथ पौडेल र कोषाध्यक्षमा यामजी श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
सञ्चालक सदस्यहरुमा भुवन चौंलागाइँ, दिपक प्रसाइँ, राजकुमार न्यौपाने, जमुना खरेल र सुवासचन्द्र गडतौला चयन भएका छन् भने लेखा सुपरिवेक्षण समितिको संयोजकमा ताराप्रसाद अधिकारी, र सदस्यद्धयमा एकराज प्याकुरेल र इन्दिरा काफ्ले भट्टराई चयन भएका निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित सञ्चालक तथा लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक विष्णु सुब्बाले प्रमाणपत्र वितरण गर्नुका साथै शपथगहण गराएका थिए । निर्वाचन सम्पन्न गर्न संस्थाले पत्रकार समेत रहेका सुब्बाको संयोजकत्वमा विष्णु पौडेल ,इन्दु पूर्वेली , प्रेमचन्द भण्डारी र अजय निरौला सदस्य रहेको एक निर्वाचन समिति गठन गरेको थियो ।
संस्थाको ११ औं बार्षिक साधारण सभा इकाइगत रुपमा सम्पन्न गरेको संस्थाले आज भने औपचारिक रुपमा माइन्यूट प्रमाणिकरण तथा उत्कृष्ट शेयर सदस्य पुरस्कृत गर्न गरि संस्थाको नवनिर्वाचित सञ्चालक समिति र लेखा समितिको घोषणा गरेको हो ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको प्रमुख आतिथ्यता तथा उद्योगी एवं जनमुखी सहकारी संस्थाका सल्लाहकार संयोजक ऐश्वर्य प्रसाद तिम्सिनाको विशेष आतिथ्यमा रहेको सो कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रुद्रप्रसाद तिम्सिनालाई विशेष सम्मान गरिएको थियो । त्यसैगरी सो अवसरमा संस्थाले उत्कृष्ट शेयर सदस्यका रुपमा दमकका अमित अग्रवाल, सन्दिप साहेवाला लगायत ५ जना, विर्तामोडका चन्द्रकुमार प्रसाई, ज्योति खरेल, विष्णु प्रसाद घिमिरे, लक्ष्मी सापकोटा, मित्र घिमिरे लगायत, सुरुङा, केर्खा, बुधबारे तथा उर्लावारी सेवा केन्द्रका उत्कृष्ठ कारोवार गर्ने सदस्यहरुलाई पुरस्कृत गरेको थियो । त्यस्तै, संस्थाले उत्कृष्ट कर्मचारीका रुपमा लोकेन्द्र बहादुर धिमाल र रुपा रानामगरलाई नगद ९ हजार ५ सय १ रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।
साधारणसभामा अध्यक्ष खरेलले संस्थाको शेयर पुँजी ७ करोड ७ लाख २ हजार रुपैया पुगेको र बचत संकलन ४ अर्ब ७७ करोड ९ लाख ३८ हजार ५१९ रुपैया र अन्य बचत तर्फ ५९ लाख १९ हजार २५९ रुपैया गरी जम्मा बचत ४ अर्ब ७३ करोड ५३ लाख ७९ हजार ९९८ रुपैया पुगेको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, लेखा संयोजक राजकुमार न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले गत शनिवार केर्खा सेवाकेन्द्र बाट सुरु गरेको साधारणसभा क्रमश सुरुङ्गा, विर्तामोड, बुधवारे, उर्लावारी हुँदै भदौ २९ गते दमक सेवा केन्द्र स्तरीय साधारण सभा गरेर आज बिहिबार भने दमकमा निर्वाचित समितिको घोषणा तथा सम्मान , पुरस्कार वितरण सम्पन्न गरि समापन गरिएको संस्थाका प्रशासन प्रमुख धर्मानन्द भट्टराईले जानकारी दिए ।