एमालेबाट झापामा प्रतिनिधिसभा उम्मेदवारहरु सिफारिस

झापा, २० भदौ । नेकपा एमाले झापाका क्षेत्रीय कमिटीहरुले प्रतिनिधिसभा सदस्यका आकांक्षीहरुको नाम उम्मेद्वारको रुपमा सिफारिस गरेका छन् । जिल्लाका सबै क्षेत्रीय कमिटीहरुले उम्मेद्वार सिफारिसमा परेका नामहरु जिल्ला पार्टीलाई उपलब्ध गराएको सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

झापाको ५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि १५ जनाको नाम सिफारिस गरिएको छ । त्यसमध्ये क्षेत्र न. ५ मा पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र क्षेत्र न. १ मा पार्टीका केन्द्रीय सदस्य रविन कोइराला सर्वसम्मत सिफारिस भएका छन् ।

यस्तै, क्षेत्र नं. २ मा पार्टीका स्थायी कमिटी सदस्य एवम् झापा इन्चार्ज अग्नि खरेल, प्रदेश इन्चार्ज देवराज घिमिरे, बिर्तामोडका निवर्तमान मेयर ध्रुव कुमार शिवाकोटी र बहालवाला सांसद पबित्रा निरौला खरेलको नाम सिफारिस भएको प्रचार बिभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिए ।
क्षेत्र नं ३ मा पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाई सहित मोहन रेग्मी, लोकनाथ भट्टराई, रविना ढकालको नाम सिफारिस गरिएको छ । झापा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य एलपी साँवासहित हिरा थापा, होम गौतम, चन्द्र कुमार शेर्मा र भोजकुमारी नेपालको नाम सिफारिस भएको छ । क्षेत्र नं ५ मा भने पार्टी केन्द्रीय अध्यक्ष केपी ओली सर्वसम्मत उम्मेद्वार सिफारिस भएको एमाले झापाले जनाएको छ ।

यस्तै, प्रदेश निर्वाचन क्षेत्रमा पनि उम्मेद्वारहरु आइतवार नै सिफारिस गरिएको थियो । क्षेत्रीय कमिटी बैठकले क्षेत्र न.१ (क ) मा राम ओली, शान्ति सापकोटा, देबकुमार राई, मोहनप्रकाश उप्रेती, निलकण्ठ तिवारी, कृष्ण खनाल, विष्णु सुबेदी, शोभा खवास, प्रमेकुमार भट्टराई, बन्धन मुण्डा, चन्द्र प्रसाई, रमा भण्डारी, राजु कार्की, इन्द्र बाँसकोटा, भुपाल ओली, राज पोख्रेल, निर्मला गौतम र रामचन्द्र उप्रेतीको नाम सिफारिस गरेको छ ।
यसैगरी क्षेत्र (ख ) बाट रेणुका डाँगी, लक्ष्मी राई, घनश्याम अधिकारी, लता प्रसाई, यामनाथ बराल, हरि घिमिरे, पुरुषोत्तम अधिकारी र रमेश आचार्यको नाम सिफारिस भएको बताइएको छ ।

त्यसैगरी, झापा क्षेत्र न. २ मा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फका आकांक्षीहरुले सोमवार क्षेत्रीय समन्वय कमिटीको बैठकमा आफ्नो उम्मेदवारी दर्ज गरेका छन् ।
२ नं। क्षेत्रीय समन्वय कमिटीको बैठकमा समानुपातिकतर्फ उम्मेदवार बनाउन सिफरिसका लागि नाम संकलन गरिएको थियो ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न ४ जना आकाक्षीमा अमृतलाल राजवंशी, जसमाया गजमेर, हर्कमाया बिक र कमला थापा मगर रहेका छन् ।

यसैगरी, प्रदेशसभामा प्रतिनिधित्व गर्न क्षेत्र न. २ (क ) बाट १५ जना आकांक्षीहरु देखिएका छन् । समानुपातिकबाट प्रदेशसभा सदस्यका आकांक्षीहरुमा भीमकुमारी शिवाकोटी, द्रौपदी गणेश, अम्बिरकुमार लिङ्देन, छबिलाल बिक, हरिप्रसाद ओझा र पवित्रा पाठक रहेका छन् । यस्तै हडम मुर्मु सतार, अफ्रोज खान पैठान, ज्ञानेन्द्रप्रकाश ओली, केशवराज कार्की र सुरेन राजवंशीले पनि आकांक्षा व्यक्त गरेका छन् । डम्बरबहादुर बस्नेत, राजेन्द्रप्रसाद लिङ्देन, अनिता कन्दङवा र निता घतानीले पनि प्रदेशसभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने अपेक्षा राखेका छन् ।

यस्तै, निर्वाचन क्षेत्र न.२ (ख ) बाट ५ जनाले आकांक्षीहरु समानुपातिक उम्मेदवार बन्न आकांक्षा व्यक्त गरेका छन् । समानुपातिकबाट प्रदेशसभा सदस्यका आकांक्षीहरुमा वर्तमान प्रदेशसभा सदस्य बृख प्रधान, मजदूर नेता शान्तकुमार राई, सुमन नेम्वाङ, कमला खतिवडा र देवीकुमारी घिमिरेले नाम टिपोट गराएका छन् ।

सचिव ढुङ्गेलका अनुसार क्षेत्रीय कमिटीको बैठकले सिफारिस गरेका नामहरु जिल्ला कमिटीको बैठकमा पेश हुनेछन् । मंगलवार बस्ने बैठकले सिफारिस गरेर आएका नामहरुका बारेमा रायसहित प्रदेश कमिटीलाई सूझाव दिनेछ । जिल्ला कमिटीले नाम हटाउने छैन, थप गरेर पठाउन सक्छ, ढुङगेलले भने – ‘जिल्ला कमिटीले कुन क्षेत्रका लागि को उम्मेद्वार उपयुक्त हुन्छ भनेर लेख्न सक्छ ।’

जिल्ला कमिटी कै जस्तो प्रदेश कमिटीले पनि केन्द्रीय कमिटीलाई रायसहित सूझाव पेश गर्ने बताइएको छ । जिल्लाको बैठकले मंगलवार नै प्रदेशलाई नाम पठाउनेछ, प्रदेशले २२ गतेभित्र केन्द्रमा पठाउनुपर्ने निर्देशन छ । एक हप्ताभित्र उम्मेद्वारको अन्तिम टुङ्गो लगाइने एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.