
दमक,१६ जेठ । राष्ट्रिय भूमि आयोग झापाले दमकमा आफनो सम्पर्क कार्यालय स्थापना गरेको छ । आयोगका जिल्ला अध्यक्ष तिलकसिंह पाण्डेले आज यहाँ दमक सम्पर्क कार्यालयको उद्घाटन गरे ।
भूमि आयोगले दमक नगरपालिकामा भूमि सम्बन्धी काम गर्न सेवाग्रहीलाई लक्षित गरि उक्त सम्पर्क कार्यालय स्थापना गरिएको अध्यक्ष पाण्डेले बताए ।
त्यस अवसरमा नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगीना भट्टराईले दमकमा अव भूमिहिन, दलित भूमिहीन तथा अव्यवस्थित बसोबासीका भूमि सम्बन्धी समस्या छिट्टै समाधान हुने जोड दिए । आयोगले दमक १० बाट भोलिदेखि त्यहाँ काम थाल्ने जनाएका छन् ।
उनका अनुसार दमकका १० वटै वडामा यसअघिनै भूमिहीन, दलित भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको बस्तुस्थिति विवरण लगायतका प्रारम्भिक चरणका काम सम्पन्न भईसकेका छन् ।
भूमि आयोग दमक सम्पर्क कार्यालयमा एक जना प्राविधिकसहित तीन जना कर्मचारी दैनिक खटिने छन् । उक्त सम्पर्क कार्यालय उद्घाटनमा माओवादी केन्द्रका १ नम्बर प्रदेश कमिटीका कोषाध्यक्ष गगन पुरी, कांग्रेसका महाधिबेशन प्रतिनिधि शुरेस सुब्बा लगायतले समेत बोलेका थिए ।