मोरङको मिक्लाजुङ गठबन्धन विजयी,अध्यक्षमा राई

उर्लावारी,२ जेठ। नेकपा एमालेले जित्दैआएको मोरङको मिक्लाजुङ गाउँपालिकामा यसपटक भने सत्तारुढ गठबन्धनले जित हासिल गरेको छ ।
नेपाली कांग्रेस,माओवादीसहितको गठबन्धनबाट उम्मेदवार वनेका अध्यक्ष,उपाध्यक्षसहित सात वडामा जित हासिल गरेको हो ।
निर्वाचन अधिकृतको कार्यालयले मंगलबार बिहान सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार अध्यक्षमा कांग्रेसका बबिकुमार राई र उपाध्यक्षमा माओवादीका दिनेश पौडेल निर्वाचित भएका हुन् । अध्यक्ष राई ८ हजार २५३ मतसहित विजयी हुँदा एमाले उम्मेदवार नरेन्द्रप्रसाद ढुङ्गेलले ४ हजार ९१६ मत ल्याए ।

उपाध्यक्षमा निर्वाचित माओवादीका पौडेलले ५ हजार ६२६ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी एमालेकी निर्मला राईले ५ हजार ४५५ मत मात्रै ल्याइन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा ६ वटा वडासहित मिक्लाजुङको अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो । दुई दलले गठबन्धन गर्दा नौवटा वडा रहेको मिक्लाजुङमा पाँचवटामा कांग्रेस, दुईवटामा माओवादी र दुई वटा वडामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

मिक्लाजुङ– १ को अध्यक्षमा कांग्रेसका पर्वत राई, २ मा बलबहादुर श्रेष्ठ, ४ मा विशाल राई, ६ मा खडीबहादुर मगर र ९ मा सेमन्तराज दाहाल चुनिएका छन् ।

एमालेबाट ३ मा सन्तोषकुमार थापामगर र ७ मा सुशीलराज चौहानले वडा अध्यक्ष जिते । माओवादीबाट ५ मा मेघराज तामाङ र ८ मा पूर्णबहादुर कुँवर निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published.