
दमक,२३ चैत । दमकमा आजदेखि एकसाता लामो ‘आठौं फूडफेस्टिवल ’ हुदै छ । होटल व्यवसायी संघ दमकले बर्षेनी गर्दै आएको फूडफेस्टिवललाई यस बर्षपनि निरन्तरता दिदै आजदेखि शुरु भई २९ चैतसम्म फूडफेस्टिवल गर्न लागेको हो । फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको फूडफेस्टिवल आयोजक समितिका संयोजक भुपेन्द्र न्यौपानेले जानकारी दिए । फूडफेस्टिवलको प्रदेश सरकारकी पर्यटन तथा संस्कृति मन्त्री खिनु लङवा लिम्बूले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
फूडफेस्टिवलमा स्थानीय आदिवासी,जनजातिका विशेष परम्परागत तथा मौलिक खानेकुराहरुको व्यवसायिक प्रवद्र्धन गर्नमा जोड दिने उद्देश्यले फूडफेस्टिवल आयोजना गर्न लागिएको उनले बताए ।
उक्त फूडफेस्टिवलमा स्थानीय धिमाल, राजवंशी, तामाङ, लिम्बु, राई, नेवारी लगायतका जातजातिका भान्सामा पाक्ने परम्परागत खानेकुराहरुको तीन दर्जन बढी व्यवसायिक स्टलहरु राखिने छन् ।
दमक ७ स्थित पशुहाट क्षेत्रमा आयोजना गरिने सो फूडफेस्टिवलमा दैनिक स्थानीय जातजातिको मौलिकता झल्काउने परम्परागत नृत्यसंगै राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुति रहने आयोजक होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगालले जानकारी दिए । फूडफेस्टिवलका माध्यमबाट दमक र आसपास क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको प्रचार प्रसार संयोजक दिपक फुयाँलले जनाएका छन् ।
प्रचार संयोजक फूयलका अनुसार फूडफेस्टिवलमा १ लाख बढीले अवलोकन गर्ने र करिव रु २५ लाख बढिको आर्थिक करोबार गर्ने लक्ष्य राखिएको छ । फूडफेस्टिवल सम्पन्न गर्न दमक नगरपालिका संरक्षकका रुपमा रहने र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन रहने जनाइएको छ ।