
बिर्तामोड, २४ फागुन । ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मंगलवार यहाँ प्रजातान्त्रिक आन्दोलनका अग्रणी सात जना महिला नेतृहरुलाई सम्मान गरिएको छ ।
नेपाली काँग्रेस झापा क्षेत्र नम्बर–२ ले राणा शासनको अन्त्य, तत्कालीन राजा महेन्द्रले २०१७ सालमा जननिर्वाचित सरकारलाई अपदस्त गरी एकदलीय तानाशाह लादेपछि प्रजातान्त्रिक समाजवाद, बहुदलीय ब्यवस्था र वाक एवं अभिव्यक्ति स्वतन्त्रताका लागि संघर्ष गरेका सातजना महिला नेतृहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा धर्मकला प्रसाईं, दिब्या प्रसाईं, यज्ञकुमारी सिटौला, उमा पोखरेल, पदमा बजगाई, मिठु ढकाल र निर्जला बन रहेकी छन् । सम्मानित अधिकांश नेतृहरुले निर्दलीय शासन ब्यवस्थाका बेला कांग्रेसले सञ्चालन गरेको प्रजातान्त्रिक समाजवादी आन्दोलनमा लागेकै कारण जेल, नेल, यातना, निर्वासन एवं सर्वस्वहरणसम्मको यातना भोगेकी थिइन् ।
सम्मानित ब्यक्तित्वहरुलाई प्रमुख अतिथि एवं कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौला, पूर्व मन्त्री उदयसमशेर राणा, कांग्रेस १ नं प्रदेश सभापति उद्धव थापा, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, पूर्व सांसद डिल्लीप्रसाद सिटौला, झापा सभापति देउमान थेवे, सचिव कृष्ण हुमागाई, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीलगायतले सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए । सम्मानित ब्यक्तित्वको जीवनी समेटिएको सम्मानपत्र उपसभापति लक्ष्मीप्रसाद आचार्य र सचिव चन्द्र चुडालले वाचन गरेका थिए ।
चारसय जना कांग्रेसमा प्रवेश
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी लगभग चारसय जना कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई पार्टीको साधारण सदस्यता प्रदान गर्दै खादा र अविरले स्वागत गरेका थिए ।
कार्यक्रममा नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ, शहीद परिवारका केदार समशेर गिरी र युवराज विमली, प्रदेश सदस्य मिरा खड्का, राजकुमार बराईली, जिल्ला सदस्यहरु सरस्वती सिटौला, पार्वता गिरी, एलबहादुर गिरी, झुमा बेडारी, लीला ढकाल, प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, महाधिवेशन प्रतिनिधिहरु उमा शिवाकोटी, टिका प्रसाई, भुमा घिमिरेलगायत कांग्रेसमा आबद्ध विभिन्न तह र तप्काका कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।