दमक ,१९ असोज । झापाको दमकमा जारी कोशी प्रदेश जिल्ला स्तरीय प्रथम भेट्रान च्यालेन्ज कप–२०८३ को उपाधिका लागि विर्तामोड भेट्रान र दमक भेट्रान (रातो) बीच भिडन्त हुने भएको छ ।
प्रतियोगिताको आज सम्पन्न दुई वटा सेमिफाईनल खेलमा बिर्तामोड भेट्रानले चन्द्रगढी भेट्रानलाई १–० गोल अन्तरले पराजित गरि फाइनलमा पुगेको हो ।
दमक–२ स्थित बेलडाँगी खेलमैदानमा भएको खेलको निर्धारित समयको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। दोस्रो हाफमा चन्द्रगढी भेट्रानका जर्सी नम्बर ५ का खेलाडीले पहेँलो कार्ड पाए पनि निर्धारित समयसम्म कुनै पनि टोलीले गोल गर्न सकेन। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा दुवै टोलीले २–२ गोल गरेपछि खेल बराबरी भएको थियो।
पेनाल्टीमा बिर्तामोड भेट्रानले १–० को जित निकाल्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो।
त्यसैगरी सेमिफाइनलको दोस्रो खेलमा दमक भेट्रान (रातो) र काकडभिट्टा भेट्रान बीच प्रतिस्पर्धा भएको थियो । खेलमा दमक रातो भेट्रानले काकडभिट्टा भेट्रानलाई निर्णायक पेनाल्टीमा बाट १–० गोल अन्तरले पराजित गरेको छ ।
खेलको निर्धारित समयको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। हाफ टाइमपछि दमक भेट्रान (रातो) का जर्सी नम्बर ८ का खेलाडीले पहेँलो कार्ड पाए। हाफ टाइमपछि पनि दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टीमा दुवै टोलीले ३–३ गोल गरेपछि खेल बराबरी भएको थियो। निर्णायक पेनाल्टीमा दमक भेट्रान रातोले १–० को जित निकाल्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो।
२१ गते बुधबार हुने फाइनलको विजेताले नगद १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ ,मेडल, ट्रफि तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष गजेन्द्र देवानले जनाएका छन् । १५ असोजवाट शुरु भएको प्रतियोगितामा पूर्वका झापा, मोरङ, इलाम र सुनसरीका गरि १२ वटा भेट्रान टीमले भाग लिएका छन् ।