
धरान ,१७ फागुन । धरान -१८ बुद्धचौकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा फेला परेकी महिलाको सनाखत भएको छ । मृतकका छोरा र छोरीबाट शवको पहिचान भएको हो । मृतक पाँचथरको मिक्लाजुङ- १ की ३९ वर्षीया सुमित्रा तामाङ रहेको पुष्टि भएको छ ।
उनका श्रीमान पूर्व भारतीय सेना रहेको र हाल बु्रनाईमा कार्यरत रहेको बताइएको छ । उनी इटहरी उपमहानगरपालिका ५ तुलसा टोलमा विगत ४,५ वर्ष देखि बसोबास गर्दै आएको उनका छोराछोरीले बताएका छन् । मृतकसँगै भेटिएको नागरिक्ताको आधारमा मृतकको पहिचान गरि छोराछोरीलाई झिकाउन सफल भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार महिला दुई दिनयता होटलमा बसेकी थिइन् । आज कोठा सफा गर्न पुगेका होटलका कर्मचारीले मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए । महिलासँगै होटलमा बसेका पुरुष भने फरार छन् ।
महिलाको शरीरमा चोट पटक रहेको र सँगै रहेका पुरुष फरार रहेका कारण प्रहरीले हत्या भएको हुनसक्ने बताएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले मृतकको अनुहारमा चोट लागेकाले उनको हत्या भएको हुन सक्ने भन्दै उनीसँगै दुई दिन देखि सोही कोठामा बस्दै आएका पुरुषको प्रहरीले खोजी भईरहेको जनाए ।