हलेसीबाट तीन वर्षमा दुई करोड भेटी

खोटाङ,१३ फागुन । प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा रु एक करोड ९२ लाख ३७ हजार ४८८ आम्दानी भएको छ । त्यस्तै रु एक करोड १५ लाख ३१ हजार ५० व्यय भएको छ ।
हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थीबाट आर्थिक वर्ष २०७५-०७६ मा रु ८७ लाख १९ हजार २१५ आय र रु ४२ लाख ४२ हजार ३५० व्यय, आव २०७६-०७८ मा रु ५३ लाख ८९ हजार ८६९ आय र रु ४० लाख ६२ हजार ५२१ व्यय तथा आव २०७७-०७८ मा रु ५१ लाख २८ हजार ४०४ आय र रु ४२ लाख २६ हजार १७९ व्यय भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।
भेटीबापत जम्मा भएको रकम खर्च कटाएर रु ७७ लाख छ हजार ४३८ हलेसी मन्दिर व्यवस्थापन समितिको खातामा रहेको छ । हलेसी मन्दिरमा आउने विदेशी दर्शनार्थीले चढाएका विदेशी मुद्रा तथा स्वदेश र विदेशका दर्शनार्थीले चढाएका सुनचाँदीका गरगहनालगायतका सामग्री भने हालसम्म सुरक्षित राखिएको छ ।
हलेसीमा आउने स्वदेश तथा विदेशका दर्शनार्थीले चढाएका भेटी, विदेशी मुद्रा तथा सुनचाँदीलाई आम्दानीको रूपमा हिसाब राख्ने गरिएको छ । हलेसी मन्दिरको भेटीलाई पारदर्शी बनाउन हलेसी चुवाचुङ नगरपालिका, मन्दिर व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय हलेसीका प्रतिनिधिले दानपेटिकाको चाँबी राख्ने गरेका हुन् ।
मन्दिरबाट सङ्कलन भएको भेटीबाट मन्दिर वरिपरि, दिव्यध्वनि, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रङ्गरोगन, बसाहा थान धाराको ढल निकास (जेसिभी प्रयोग) , भेटी गणना, अतिथि खाजा, खानेपानीको लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोगलगायतमा खर्च भएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिए ।
प्राकृतिकरुपमा समेत विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीमा भाकल तथा दर्शन गर्न आउनेले दान गर्दै आएका छन् । हलेसीमा नेपालसँगै भारत, चीन, भुटान, जापान, श्रीलङ्का, अमेरिका, दक्षिण कोरियालगायत विभिन्न मुलुकबाट दर्शनार्थी तथा अवलोकनकर्ताहरु आउने गरेका छन् ।
मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा रामनवमीमा १५ दिन, बालाचतुर्दशीमा १२ दिन, शिवरात्रिमा सात दिन र हरितालिका तीजमा तीन दिन मेला लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published.