
दमक,५ माघ । दमक जेसीज बर्ष -२०२२ को अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । दमक जेसीजको ४१ औ बार्षिक साधारणसभा अन्तर्गत यहि माघ ७ गते हुने निर्वाचनमा अध्यक्षसहित कार्यकारी उपाध्यक्षमा ,उपाध्यक्ष,तालिम निर्देशक र जनसम्पर्क अधिकारी गरि नौ पदका लागि १५ जनाको उम्मेदवारी परेको हो ।
निर्वाचन कार्यक्रम अन्तर्गत माघ ४ गते उम्मेदवारी मनोनयनमा अध्यक्षतर्फ मुकेश अग्रवाल,निरोज आचार्य र सन्जीव वरालको उम्मेदवारी परेको छ । त्यस्तै दुई कार्यकारी उपाध्यक्षमा सन्जीव न्यौपाने,राजकुमार अग्रवाल,सुमन कोइराला,उमेश गजमेर,सुनिता आचार्य र सहदेव भट्टराई गरि ६ जनाको उम्मेदवारी परेको निर्वाचन आयुक्त भीमराज चम्लागाईले जानकारी दिए ।
उनका अनुसार यस्तै चार उपाध्यक्षमा क्रमशःसन्ध्या अधिकारी,समिर दाहाल,रुवेल अधिकारी र साजन श्रेष्ठको उम्मेदवारी परेको छ । यसैगरि तालिम निर्देशकमा राजेन्द्र बिमली र जनसम्पर्क अधिकारीमा लोकनाथ सापकोटाको उम्मेदवारी दर्ता भएको छ । जेसीजको विधानअनुसार उपाध्यक्ष, तालिम निर्देशक र जनसम्पक अधिकारीमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित भएको जनाईएको छ ।
दमक जेसीजको निर्वाचन सम्पन्न गर्न पूर्व अध्यक्ष चम्लागाई निर्वाचन आयुक्त रहेको एक निर्वाचन समिति समेत गठन गरिएको छ । निर्वाचन समितिले दमक जेसीज बर्ष २०२२ का नयाँ नेतृत्वका लागि माघ ४ गतेदेखि ७ गतेसम्म निर्वाचन तालिका समेत सार्वजनिक गरेको छ ।
अध्यक्ष एक र दुई कार्यकारी उपाध्यक्षमा आवश्यक भन्दा बढी उम्मेदवारी परेकाले उम्मेदवारहरुवीच सहमति जुटाउन माघ ७ गते विहानसम्म समय तोकि आवश्यक पहल थालिएको बताइएको छ । सहमति नजुटे निर्वाचन समितिले माघ ७ गते दिउँसो ३ वजेदेखि मतदान कार्यक्रम तय गरिएको आयुक्त चम्लागाईले बताएका छन् ।
उम्मेदवारहरुको तालिम,ककससहित मतदानका कार्यक्रम भने दमक ६ स्थित मेची सहकारीको सभाहलमा हुने जनाईएको छ ।
यसैवीच दमक जेसीजको अध्यक्ष पदमा सन्जीव बरालले आफनो दावीलाई सहमतिमा जुटाउन कसरत थालेका छन् । २०२०का महासचिव समेत रहेका वराललाई यसपटक अध्यक्ष बनाउन पूर्वअध्यक्षहरुले समेत साथ दिदैआएका छन् । उनलाई गएको वर्षनै अध्यक्ष बनाउने सहमति बनेको थियो । हालका अध्यक्ष सुयोग खरेलसंगै अध्यक्षका प्रत्यासी भएका उनलाई बर्ष २०२२ को अध्यक्ष बनाउने जेसीजका अगुवाहरुवीच आन्तरिक सहमति बनेको थियो ।
यसैवीच अध्यक्षका प्रत्यासी बरालले जेसीजमा योगदान पुरयाँउन आफूले गएको बर्षनै उम्मेदवार भएको बताउदै यसबर्ष भने आफनो आकांक्षा बलियो भएको स्पष्ट पारेका छन् । उनीसंगै अध्यक्षका आकांक्षीद्धय निरोज आचार्य र मुकेश अग्रवालले पनि जेसीजमा निरन्तरता भएकै कारण आफूहरु नेतृत्वका लागि योग्य भएको उल्लेख गरेका छन् ।